विराटनगर बालसुधार गृहबाट २४९ बाल बिज्याइँकर्ता फरार, सेना–प्रहरी परिचालन गरी नियन्त्रण अभियान तीव्र

विराटनगर– विराटनगर–३, कञ्चनबारीस्थित बालसुधार गृहबाट बुधबार बिहान २४९ जना बाल बिज्याइँकर्ताहरू सामूहिक रूपमा फरार भएका छन्।
बिहान करिब पौने १० बजे सुधारगृहमा रहेका कैदी–बन्दीहरूले गृहको मुख्य गेटको ताला फुटाउँदै सुरक्षाकर्मीलाई लछारपछार पारेपछि उनीहरू फरार भएका हुन्। फरार हुनुअघि कैदी–बन्दीहरूले गृहभित्रका कागजातसमेत च्यातेको सुधारगृहका प्रमुख गोमतीप्रसाद ढकालले जानकारी दिए।
सुधारगृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरू रहेका मध्ये करिब ५० जनाले भने नभागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सुधारगृहमा मुस्किलले २० देखि २५ जना मात्र भित्रै रहेका छन् भने फरार भएकामध्ये अधिकांश गम्भीर मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका थिए।
फरार भएका मध्ये करिब ६० जनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका बाल बिज्याइँकर्तालाई पुनः सुधारगृहभित्र लगिएको छ। बाँकी फरार भएकालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएको भए पनि ठूलो संख्यामा भएको विद्रोहपछि उनीहरूलाई रोक्न कठिन भएको देखिएको हो। अहिले फरार भएकाहरूलाई खोजी कार्य तीव्र बनाइएको र स्थानीयलाई सहयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ।
यो घटनाले मुलुककै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै विराटनगरका स्थानीयवासी आक्रोशित बनेका छन्।