पोर्चुगल जान एजेन्टलाई ३ लाख बुझाई सकेका Gen-Z युवक संसद् भवन अगाडि यसरी ढले

काठमाडौँ– सोमबार बिहानै माइतीघर मण्डलामा जेन–जी आन्दोलनको पारो तात्दै थियो। भ्रष्टाचारविरुद्धको नारा बोकेर हजारौँ युवा सडकमा ओइरिरहेका बेला त्यो भीडतिर एक युवक दृढताका साथ पाइला बढाउँदै थिए— गोरखा बारपाक सुलिकोट–५ का २२ वर्षीय विमलबाबु भट्ट।
विमल कोटेश्वरस्थित मामाको घरमा बस्दै आएका थिए। घरबाट निस्कनुअघि उनले खुलेरै भने, ‘म जेनजी आन्दोलनमा जान लागेको।’ तर मामा हरिराम भट्टसँग अघिल्लो वर्षको हिंसात्मक आन्दोलनको स्मृति ताजा थियो। उनले बारम्बार सम्झाए, ‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न।’ तर विमल अडिग रहे—‘हामी नगए, को जान्छ? हामीले देश नबनाए अब कसले बनाउँछ?’
दिउँसो आन्दोलन चर्कँदै गयो। बानेश्वर क्षेत्रमा गोली चलेको खबर सामाजिक सञ्जालभर फैलियो। प्रहरीको गोलीले युवाहरू मारिएको समाचार सुनेपछि हरिरामले विमललाई फोन गरे। तर फोन अरु कसैले उठायो। आवाज आयो, ‘तपाईँको भान्जा सिभिल अस्पतालमा छन्। यो फोन आशिका तामाङ दिदीलाई छोडिदिन्छु, उहाँसँगै कुरा गर्नुहोस्।’
हरिराम अत्तालिए। तर करफ्युका कारण तत्काल अस्पताल पुग्न सकेनन्। राति ८ बजे पुग्दा उनले देखे— संसद् भवनको गेट अगाडि गोली लागेर ढलेका पहिलो जेन–जी युवा अरु कोही नभई आफ्नै भान्जा विमल थिए। गोरखाबाट प्लस टु पढ्न काठमाडौं आएका उनी मामाको वासिङ फ्याक्ट्रीमा पनि काम गर्थे।
विदेशमा रहेका दाइ सुदीपसँग उनी सधैं भन्थे, ‘असनमा कपडा पसल खोलौँ, केही त गर्छौं।’ तर बेरोजगारी, अवसरको अभाव र भ्रष्ट नेताहरूप्रति घृणाले उनलाई बारम्बार विदेशतर्फ तानिरहेको थियो। थाइल्यान्ड हुँदै पोर्चुगल जाने योजना बनाइसकेका उनी एजेन्टलाई तीन लाख रुपैयाँ बुझाइसकेका थिए।
‘अब एक महिनामा भिसा आउँछ, अनि उड्ने हो भन्थे। तर प्रहरीको गोलीले उनलाई अन्तै उडायो’ हरिरामको स्वर गम्भीर भयो। विमलका लागि गाउँको घर एउटा बोझ थियो—बिरामी आमा, थकित बुबा, दुई भाइ। उनी सधैं भन्थे– विदेश गएर मानसिक रोगी आमाको उपचार गर्छु, घरको गरिबी मेटाउँछु। तर प्रहरीले चलाएको गोली लागेर उनका ति सपना पनि चकनाचुर भए।
विमल साहसी स्वभावका थिए। नेतृत्व गर्ने भावना बाल्यकालदेखि नै देखिन्थ्यो। टिकटकका भिडियोहरूमा पनि उनी आन्दोलनको अग्रपंक्तिमा देखिन्छन्। ‘संसद् भवनको गेट खोल्न जाँदा उनी अगाडि गएछन्। प्रहरीले छातीमै गोली हानेछ। अरुले रबरको भन्छन्, हामीलाई मेटलजस्तो लाग्यो। त्यही भएर तत्काल ढले,’ मामा हरिरामले भने।
विमलले साथ छोडेपछि अव परिवारलाई कुनै ठूलो अपेक्षा छैन। उनीहरू चाहन्छन— विमलको बलिदानलाई सहिदको हैसियत दिइयोस्। ‘देशमा परिवर्तनको आशामा भान्जाले प्राणको आहुति दिए। पक्कै पनि सहिद भनेर चिनिनेछन्। राज्यले कन्जुस्याइँ गर्न हुँदैन,’ उनले आग्रह गरे।
विमल मात्र होइन, सोही दिन गोली लागेर १९ युवाको ज्यान गयो। उक्त आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ। यस घटनाले युवापुस्ताको निराशा, आक्रोश र विद्रोहलाई झन् उजागर गरिदिएको छ। यद्यपी, जेनजीहरु अहिले आन्दोलन सफल भएको भन्दै अन्तरिम सरकार गठनको तयारी छन्। तर, नेतृत्व कसलाई दिने, राजतन्त्रमा फर्किने की लोकतन्त्रलाई नै सुधार गर्ने भन्ने विषयमा उनीहरु अलमलिएका छन्।
उनीहरुको यो अलमलले देशलाई अझै अन्धकारमा त धकेलिरहेको छैन ? भन्ने प्रश्नहरु नागरिकले गरिरहेका छन्। तर, निकास निकाल्ने तयारीमा उनिहरु जोडतोडले लागेको देखिन्छ।