बलात्कारको कसुरमा जेल, कारागारबाट भागेको भोलिपल्टै फेरी बलात्कार प्रयास गर्दा पक्राउ

काठमाडौँ– बलात्कारको कसुरमा जेल सजाय भोगिरहेका कैदी कारागार तोडफोडपछि भागेका थिए, तर भोलिपल्टै उनी फेरि बलात्कार प्रयासमा पक्राउ परेका छन्।
कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। सुनारलाई यसअघि एक महिलामाथि बलात्कार गरेको मुद्दामा अदालतले ९ वर्ष कैद सजाय तोकेको थियो। पछिल्ला दुई वर्षदेखि उनी जेल सजाय भुक्तान गर्दै थिए।
जेनजी आन्दोलनको क्रममा देशभर विभिन्न जेलमा अराजकता फैलिँदा नख्खु कारागारसहित कन्चनपुर कारागारमा पनि कैदीहरूले तोडफोड र आगजनी गर्दै ठूलो संख्यामा भागेका थिए। त्यसमध्ये सुनार पनि थिए। तर, भागेको भोलिपल्टै उनले फेरि अपराध दोहो¥याउने प्रयास गरेका हुन्।
प्रहरीका अनुसार, बुधबार राति खाना खाएर सुतेकी ५० वर्षीया महिलामाथि सुनारले बलात्कार प्रयास गरेका थिए। पीडित महिला चिच्याएपछि सुनार भाग्ने प्रयासमा थिए। स्थानीयवासीहरूले लखेट्दै खेतमा पुगेपछि उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दोधारामा बुझाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका एसपी खडकबहादुर खत्रीले सुनारलाई हाल पुनः कारागारमा पठाइएको जानकारी दिए। उनका अनुसार, स्थानीयको सक्रियतामा पक्राउ परेका सुनार फेरि अपराधमा संलग्न भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार, त्यहाँ ४७९ कैदीबन्दीमध्ये २१ जना बाहेक सबै फरार भएका थिए। हालसम्म ४५ जना पुनः पक्राउ परेका छन् भने अहिले कारागारमा ६६ जना कैदीबन्दी मात्र रहेका छन्।