प्रचण्ड पुत्री गंगा दाहालको घर र पोखराको गाडी सोरुममा मृत फेला परेका युवा–युवतीको पहिचान खुल्यो

काठमाडौँ– देशभर जेनजी आन्दोलनका कारण फैलिएको अशान्ति र आगजनीबीच दुई ठाउँमा ज्यान गुमाएका युवायुवतीको पहिचान खुलेको छ।
पोखरा महानगरपालिका–९, लेकसाईड (नयाँबजार अंशुभरा स्क्वायर) मा रहेको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनमा मंगलबार भएको आगजनीमा एक युवतीको मृत्यु भएको थियो। भीषण आगलागीमा मृत्यु भएकी युवती दोलखाको वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी स्वस्थानी खड्का भएको पुष्टि भएको छ।
स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि पेशागत कारणले पोखरा पुगेकी थिइन्। उनका छिमेकी पुष्कर अधिकारीका अनुसार मृतकको शव लिन उनका भिनाजु र भाइ पोखरा पुगेका छन्। दोलखामा रहेका बुबाआमा भने काठमाडौं जाँदै गरेको जनाईएको छ।
बुधबार भएको आगलागीपछि स्वस्थानीको जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुर स्थित घरमा मंगलबार भएको आगलागीपछि एक युवक मृत भेटिएका थिए।
जलेको अवस्थामा भेटिएका युवक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।
‘मृतकले लगाएका कपडा र घडीका आधारमा पहिचान खुलेको हो,’ उनले भने। मृतकको शव हाल पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।
मंगलबार दिउँसो प्रदर्शन उग्र बन्दै गएपछि गंगा दाहालको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यही क्रममा सरोज खत्री जलेको अवस्थामा मृत भेटिएका हुन्।