नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेमा पक्राउ

काठमाडौँ– ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह (टक्ला) पक्राउ परेका छन्। उनलाई काभ्रेबाट इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
टक्लालाई नियन्त्रणमा लिएपछि अब कैद भुक्तानका लागि पुनः कारागार पठाउने तयारी गरिएको छ। उनी हालसम्म फरार रहेका थिए।
जेनजी आन्दोलनको प्रदर्शनको क्रममा नख्खु कारागारमा अराजकता फैलिँदा साहसहितका कैदीहरूले भागेका थिए। सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछाने पनि जेलबाट निस्किएर घर पुगेका छन्।
तर, उनले मलाई कारागारले नै पठाएको भन्दै एउटा पत्र देखाई रहेका छन्। त्यसपछि केही समयमै साहसहित अन्य कैदीहरूले कारागारमा आगजनी मच्चाउँदै फरार भएका थिए।
टक्ला १२ वर्षदेखि कारागारमा रहेका थिए। पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोगिरहेका थिए। १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको भीषण बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो, जसको मुख्य नाइकेको अभियोगमा उनलाई सजाय सुनाइएको थियो।
त्यसका साथै, अदालतको आदेशमा साहलाई जनकपुरका सञ्चार उद्यमी तथा रेडियो टुडेका सञ्चालक अरुण सिंहानियाको हत्या काण्डको मुख्य योजनाकार पनि ठहर गरिएको छ। प्रहरीका अनुसार, फरार साहलाई नियन्त्रणमा लिन गरिएको खोजी अभियानपछि पक्राउ गरिएको हो।