स्वास्थ्य मन्त्रीमा सिफारिस संगीता मिश्र विवादमा परेपछि प्रधानमन्त्री कार्की दबाबमा

काठमाडौँ– स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम नै विवादमा तानिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राति नै मिश्राको नाम ‘फिर्ता लिन’ तयारी गरेको खबर बाहिरिएको छ।

मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भइसकेको र प्रारम्भिक छानबिन भइरहेको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले कदम पछाडि तानेकी हुन्। स्रोतका अनुसार राष्ट्रपतिलाई पठाइएको नामावलीलाई तत्काल ‘होल्ड’ गर्न आदेश दिइएको छ।

प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीमा मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधिमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्तिमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमा डा. मदन परियार र सञ्चारमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन्। तर, मिश्राको नाम विवादित भएपछि पुरै मन्त्रिपरिषद् विस्तार अड्किएको हो।

डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर अब त्यही निर्णय उल्टो पर्ने अवस्था बनेको छ। उनी पहिले नै ‘विवादास्पद अफिसर’ का रूपमा चिनिएकी थिइन्।

६ महिना लामो बिदामा बसेर स्वास्थ्य सचिव नियुक्ति विवादमा सर्वोच्च अदालत पुगेकी उनले निरन्तर प्रशासनलाई चुनौती दिँदै आएकी थिइन्। सचिव बन्न नसकेपछि निराश बनेकी उनको अब मन्त्री बन्ने आशा पनि हराएको देखिन्छ।

जेनजी आन्दोलनका कारण तत्कालीन मन्त्री प्रदीप पौडेल पदमुक्त भएपछि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन भएको हो। अब प्रधानमन्त्रीले नयाँ विकल्प खोज्नुपर्ने दबाब बढेको छ। दिउँसो २ बजे नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि स्वास्थ्य मन्त्रालय कसको भागमा पर्छ भन्ने अनिश्चितता कायमै छ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा लामो अनुभव राखेकी डा. मिश्राले विगतमा स्वास्थ्य सेवा विभाग र कोशी अस्पताललगायत निकायमा काम गरेकी थिइन्। तर अहिले उनको करियर नै विवाद र भ्रष्टाचार छानबिनको छायाँमा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *