पर्सामा केटी जिस्क्याएको विवादमा गोली चलाउने ३ जना आरोपी पक्राउ

वीरगञ्ज— पर्सामा केटी जिस्क्याएको विवादमा गोली चलाएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। घटनापछि फरार रहेका आरोपीलाई पर्सा प्रहरीले अलग–अलग स्थानबाट पक्राउ गरेको हो।

बिहीबार बेलुका छिहपरमाई गाँउपालिका–५ भिस्वा स्थित गाँउपालिका कार्यालय पछाडि सडकमा दुई समूहबीच भएको झडपमा गोली चलेको थियो। अपरिचित व्यक्तिले चलाएको गोली लागेर भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए। आलमको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले बिहीबार राति नै १७/१८ वर्षका तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। ‘घटनाबारे केही खुल्न सक्छ भनेर उनीहरुसँग सोधपुछ गरिरहेका छौं, उनीहरु नै प्रत्यक्ष संलग्न भएको, सहयोग गरेको वा उक्साएको हुन सक्छ,’ उनले भने, ‘कारण प्रष्ट भईसकेको छैन।’

घाईते गोलुले घरतर्फ जाँदै गर्दा युवकहरुबीच विवाद भइरहेको स्थानबाट चलेको गोली आफूलाई लागेको प्रतिक्रिया दिएका छन्। सिमावर्ती गाउँमा भएको घटनापछि गोली चलाउने व्यक्ति भारततर्फ भागेको आशंका प्रहरीले गरेको थिए।

घटनामा संलग्न भएको प्रमाणसहित तीन जना युवक पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूमाथि दुरुपयोग हुनेखालको हतियार राखेको, सार्वजनिक सुरक्षामा आक्रमण गरेको र किशोरीलाई जिस्क्याउने जस्ता विभिन्न मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रत्यक्षदर्शीले भने झलमहियाका किशोरी र युवतीहरू भिस्वा बजारबाट घर फर्कँदा भिस्वाका केही युवाहरूले जिस्क्याउने गरेको घट्नाका कारण विवाद सुरु भएको थियो। विवादकै बीचमा गोली चलेको उनीहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट