सिरहामा सहकारी र व्यापारीको मिलेमतोमा अनुदानको मलमा कालोबजारी, ४० बोरा मल बरामद

लहान– सिरहामा सरकारी अनुदानको मलमा कालोबजारी भइरहेको आरोप फेरि प्रमाणित भएको छ। जिल्लामा केही दिनअघि मात्र १५४ बोरा मल बरामद भएको घटनाको श्रृंखला नथामिँदै सोमबार फेरि गोलबजार–६ मा अनुदानको ४० बारो मल लुकाइएको अवस्थामा भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दा स्थानीय जितन सहनीको घरको शौचालय र ढोकाको चेपमा लुकाइएको ४० बोरा डिएपी मल बरामद गरेको शाखा अधिकृत सन्तोष रायले जानकारी दिए। प्रशासनले तत्कालका लागि मल गोलबजार इलाका प्रहरी कार्यालयको निगरानीमा राख्दै गोदाम शिल गरेको छ।

गोदामधनी फेला नपरे पनि स्थानीय मुकेश बिज भण्डारले मल लुकाएको भन्ने जानकारी प्रशासनलाई प्राप्त भएको छ। बरामद मलमा ‘जिल्ला प्रशासन सिरहा’ लेखेर शिलबन्दी गरिएको छ भने सम्बन्धित घरधनीलाई सात दिनभित्र स्पष्टीकरण दिन हाजिर हुन पत्र पठाइएको छ।

प्रशासनको यो कारबाहीमा साल्ट ट्रेडिङ कर्पोरेशन, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको उपस्थिति थियो। यसअघि असोज ८ मा गोलबजारमै स्थानीय कृषि सहकारीमार्फत किसानलाई वितरण गर्न पठाइएको ९६ बोरा डिएपी, ४२ बोरा युरिया, सात बोरा पोटाससहित कुल १५४ बोरा मल बरामद भएको थियो।

तर, सहकारी, व्यापारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा यो मल किसानसम्म नपुगेको देखिएको छ। स्थानीय व्यापारीका अनुसार अनुदानको मल सहकारी गोदामसम्म नपु¥याई बाहिरैबाट बिक्री गर्ने चलन बसिसकेको छ। प्रतिबोरा दुईदेखि तीन सय रुपैयाँ अतिरिक्त रकम लिएर कालोबजारी गर्ने गरेको आरोप समेत छ।

सरकारले तेस्रो मुलुकबाट आयात गरिएको डिएपी मल ५० किलोको बोरा खरिद मूल्य करिब पाँच हजार नौ सय ४८ रुपैयाँ रहेकोमा तीन हजार सात सय ४८ रुपैयाँ अनुदान दिएको छ। त्यसैले किसानले करिब दुई हजार दुई सय ७२ रुपैयाँमा मल पाउनुपर्ने व्यवस्था छ। तर, सहकारी र व्यापारीको मिलेमतोका कारण किसानसम्म पुग्नुपर्ने मल बजारमै हराइरहेको छ।

यसले अनुदानको मल वितरण प्रणालीमाथि प्रश्न उठाएको छ। किसानलाई राहत दिन ल्याइएको अनुदान उल्टै व्यापारी र सहकारीका लागि नाफाको स्रोत बनेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट