२४ भदौको अराजकता योजनाबद्धः १ लाख ६३ हजार जोडिएको डिस्कर्डमा अपलोड थियो जलाउने घरको सूची

काठमाडौँ— भदौ २४ गते देशभर देखिएको अराजकता आकस्मिक घटना नभई योजनाबद्ध अपराध भएको प्रमाणित तथ्यहरू बाहिर आउन थालेका छन्। अनुसन्धान अधिकारीहरूको भनाइमा २३ गते राति ९ बजेतिरै विध्वंशात्मक गतिविधि गर्ने तयारी मिलाइएको थियो। जसमा कहाँ र कसरी आक्रमण गर्ने भन्ने स्पष्ट सूचीसमेत तयार गरिएको थियो।

अनुसन्धानबाट फेला परेका तथ्य अनुसार सोही निर्देशनका आधारमा २४ गते घरहरु जलाउने र तोडफोड गर्ने गतिविधि भएका थिए। यसैगरी, २४ गते विहान पनि घरहरूको नयाँ सूची तयार गरी लोकेसन म्यापमा अपलोड गरिएको खुलासा भएको छ। प्रारम्भिक सूचीमा नपरेका कतिपय घर दोस्रो दिनमा अपडेट गरेर आक्रमण गरिएको देखिन्छ। उदाहरणका लागि, काठमाडौँका सिडिओ छवि रिजालको घर पहिलो दिनको सूचीमा थिएन, तर भोलिपल्ट बिहान मात्रै त्यसलाई अपडेट गरेर तोडफोड तथा आगजनी गरिएको थियो।

सुरक्षा निकायका अनुसार यी सूचीहरू ‘डिस्कर्ड’ नामक एपमार्फत व्यवस्थापन गरिएको थियो। उक्त एपमार्फत १ लाख ६३ हजार भन्दा बढी व्यक्ति आपसमा जोडिएका थिए। त्यहाँ राखिएका निर्देशनहरू फेसबुक, ह्वाट्सएप, मेसेन्जर, भाइबरलगायत सामाजिक सञ्जालमार्फत समुह समुहमा फैलाइएका थिए। हाल उक्त एप कहाँबाट र कसरी होस्ट गरिएको थियो भन्ने तथ्य हटाइसकेकाले अनुसन्धानमा केही जटिलता आएको सुरक्षाकर्मीहरूको भनाइ छ।

जेनजी आन्दोलनको नेतृत्वको आवरणमा हर्ताकर्ता भनेर सुदन गुरुङलाई अगाडि सारिएको र उनीमाथि विदेशी शक्तिले फसाउने रणनीति बनाएको विश्लेषण हुन थालेको छ। गुरुङमाथि नेताका घरहरूको लोकेसन ट्रयाक गरेर सूची तयार गर्ने एप सञ्चालनमा संलग्न भएको आरोप लगाइएको छ। तथ्यअनुसार, उनले सूची वितरण गर्ने कामा मात्र नभई आक्रमणका लागि समूह विभाजन र जिम्मेवारी तोक्ने काम समेत गरेको देखिएको छ।

एक उच्च अधिकारीका अनुसार दोस्रो दिनको आन्दोलनमा चोर, फटाहा, हुल्लडबाज मात्र होइन, जिम्मेवार राजनीतिक दलका कार्यकर्ता पनि सक्रिय भएका थिए। कांग्रेस र एमाले नेताको घर माओवादी, रास्वपा र राप्रपाका कार्यकर्ताले जलाएका छन् भने माओवादी नेताको घर जलाउन कांग्रेस–एमालेका युवाशक्ति परिचालित भएका थिए।

आफ्नै दलभित्रको इतरपक्षका नेताको घरसमेत आफ्नै कार्यकर्ताले जलाएको तथ्य बाहिर आएको छ। अनुसन्धानले देखाए अनुसार भीम रावलको घर जलाउन गएको टोलीको नेतृत्व एमाले युवा संघका कार्यकर्ताले गरेका थिए। त्यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवको घरसमेत दलीय कार्यकर्ताले नै जलाएका हुन्।

डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई समर्थन जनाए पनि उनको घरसमेत पछि सूचीमा राखिएको भेटिएको छ। प्रचण्डको घरबाट भने आन्दोलनअघि नै महत्वपूर्ण सामग्री अन्यत्र सारिएको थियो। उनलाई यस्तो सूचना कसले, किन र कुन माध्यमबाट दियो भन्नेबारेमा अहिले अनुसन्धान भइरहेको छ।

सुरक्षाविद्हरूको भनाइमा यो आक्रमण विदेशी ड्रोन वा सेनाको आक्रमणभन्दा घातक छ। विदेशी आक्रमणमा शत्रुको पहिचान प्रस्ट हुने भए पनि यस्तो छद्मभेषी योजनामा दोषी पत्ता लगाउन गाह्रो हुन्छ। यो रणनीतिक रूपमा प्रहरीको मनोबल तोडेर कामै गर्न नसक्ने बनाउने, त्यसपछि सेना सक्रिय बनाउने योजना अनुसार अघि बढाइएको आशंका पनि व्यक्त भइरहेको छ।

विशेषज्ञहरूले सामाजिक सञ्जाललाई पूर्ण स्वतन्त्रतामा चल्न दिने नाममा मुलुकमाथि भइरहेका आक्रमणप्रति अन्तरिम सरकारले संवेदनशील हुनुपर्ने सुझाव दिएका छन्। भारत, अमेरिका, दुबई र चीनका उदाहरण दिँदै उनीहरूले आवश्यकताअनुसार प्लेटफर्ममाथि प्रतिबन्ध वा नियमन गर्न सकिने अधिकार राज्यसँग हुने बताएका छन्।

अहिले नेपाल प्रहरीले ह्वाट्सएप वा अन्य एपमार्फत भएका धम्की र अपराध तुरुन्तै नियन्त्रण गर्नसक्ने क्षमता नभएको कुरा पनि अधिकारीहरूले स्वीकार गरेका छन्।

आन्दोलनपछि लुटिएका हतियार र प्रहरीका बर्दी मात्र होइन, सरकारी तथा प्रहरी कार्यालय भवनका पुनर्निर्माणमा ठूलो धनराशी खर्च हुने अवस्था देखिएको छ। क्षतिको प्रारम्भिक आकलन नै ‘त्रास पैदा गर्ने खालको’ रहेको सुरक्षाकर्मीहरूले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट