पर्साको जयमंगलापुरमा पुलमुनि भेटियो युवकको शव

वीरगञ्ज — पर्साको छिपहरमाई गाउँपालिका–३, जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।
वडा नम्बर ३ को कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ झलमहिया–भिस्वा जोड्ने सडकखण्डमा रहेको पुलमुनि झलमहिया गाउँकै २८ वर्षीय रमेश साह कानु मृत भेटिएका हुन्। उनी भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकल (वीआर २२ एएल १२७३) सहित पानीमा खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार घटनास्थल र शवको अवस्था हेर्दा मोटरसाइकलसहित पुलमुनि खस्दा मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। तर मृत्युको वास्तविक कारण अहिलेसम्म खुलेको छैन।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखिरियाको टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया