अविरल वर्षाले देशभर त्रासः काठमाडौँका नाका बन्द, २ दिन सार्वजनिक विदा, बाढी–पहिरोको उच्च जोखिम

काठमाडौँ — गए रातिदेखिको अविरल वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। निरन्तरको वर्षाका कारण खोलानाला र नदीको बहाव बढ्दै जाँदा ठूलो धनजनको क्षति भइसकेको छ। पाँचथरको तमुर नदीमा गाडी खस्दा ६ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा बोलेरो बगाउँदा ३ जनाको ज्यान गएको पुष्टि भएको छ।
यसैबीच, काठमाडौँ उपत्यका छिर्ने सबै नाका बन्द गरिएका छन्। नारायणगढ–मुग्लिङ सडकखण्डमा करिब आधा दर्जन ठाउँमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। अन्य राजमार्गहरू पनि ठप्प छन्। उपत्यकामै बाढीको ठूलो प्रकोप देखिएको प्रहरीहरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार पछिल्लो २४ घण्टामा विशेषगरी मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ। पर्साको कालिकामाईदेखि रौतहटको गौरसम्म रहेका वर्षामापन केन्द्रहरूमा २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।
रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर पानी परेको छ। गौरमा २५४ मिलिमिटर, गौरुडामा २०७ मिलिमिटर, बाराको कलैयामा २१८ मिलिमिटर, वीरगञ्जमा २२६ मिलिमिटर र मुदालीमा २३१ मिलिमिटर वर्षा भएको छ। तुलनात्मक रूपमा पर्साको टाँडी, बाराको सिमरा र निजगढमा भने १५० मिलिमिटर हाराहारीमा वर्षा रेकर्ड भएको छ।
विवरणअनुसार, रौतहटदेखि पूर्व जनकपुरसम्म मध्यम वर्षा भए पनि पश्चिमी भागमा खतराको तह पार गर्ने गरी पानी परेको छ।
सरकारको आकस्मिक निर्णय: दुई दिन सार्वजनिक विदा
लगातार वर्षाले ल्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले असोज १९ र २० गते (आइतबार र सोमबार) दुई दिन सार्वजनिक विदा घोषणा गरेको छ। गृह मन्त्रालयद्वारा जारी सूचनामा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक देशभरका सबै कार्यालय, विद्यालय, सार्वजनिक निकाय बन्द हुने उल्लेख छ।
सूचनामा भनिएको छ, ‘वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षयलगायतका जोखिम र सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावनालाई मध्यनजर गरी सार्वजनिक विदा दिने निर्णय भएको छ।’
मौसमविद्को चेतावनी
मौसमविद्हरूले अझै तीन दिनसम्म निरन्तर वर्षा जारी रहन सक्ने र यसले ठूलो विध्वंस निम्त्याउन सक्ने चेतावनी दिएका छन्। गत वर्ष असोज १०, ११ र १२ गतेको वर्षाले देशभर ठूलो क्षति पु¥याएको स्मरण गर्दै उनीहरूले सतर्कता अपनाउन आह्वान गरेका छन्।
सरोकारवाला निकायहरूले यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन्। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका निकायलाई राहत तथा उद्धारमा खटिन आदेश दिइएको छ। यो वर्षा, केवल प्राकृतिक प्रकोप मात्र नभई मुलुकको पूर्वाधार, विपद् व्यवस्थापन क्षमता र जनजीवन कति असुरक्षित छ भन्ने कठोर वास्तविकता पनि उजागर गर्दै गएको छ।