देश रेड अलर्टमाः राति १० बजेदेखि २ बजेसम्म अतिभारी वर्षा, १७ जिल्ला उच्च जोखिममा

काठमाडौँ— शुक्रबार रातिदेखि लगातार परिरहेको वर्षाले मुलुकलाई उच्च जोखिममा पुर्याएको छ। यद्यपि अहिलेसम्म अति भारी वर्षा नभए पनि, शनिबार साँझदेखि आइतबार बिहानसम्म विशेषतः राति १० बजेदेखि २ बजेसम्म अतिभारी वर्षा गराउने उच्च सम्भावना रहेको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा ११०.१ मिलिमिटर मापन भएको छ। तर, विभागका महानिर्देशक कमलराम जोशीका अनुसार अबको १२ घण्टाले देशभर भयावह संकट डाक्न सक्छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहित सरकारी उच्च अधिकारीहरूलाई शनिबार दिउँसो ब्रिफिङ गर्दै महानिर्देशक जोशीले भने, ‘मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वासिन्दालाई विशेष सचेत रहन आग्रह गर्दछु। यात्रामा निस्कँदा विशेष सावधानी अपनाउनुहोस्, राति अवस्था झन् जोखिमपूर्ण हुन सक्छ।’

उनका अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘भारी वर्षा’ र ३०० मिलिमिटरभन्दा बढी भएमा ‘अति भारी वर्षा’ मानिन्छ। भौगोलिक आधारमा यो मापदण्ड अझ फरक पर्न सक्ने बताइन्छ।

१७ जिल्ला रेड अलर्टमा
विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्मका लागि १७ जिल्ला रेड अलर्टमा राखेको छ। कोशी प्रदेशका सुनसरी र उदयपुर, मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा (आठै जिल्ला), बागमती प्रदेशका सिन्धुली, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन रेड अलर्टमा छन्।

‘यी जिल्ला र आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन जरुरी देखिन्छ,’ जोशीले चेतावनी दिए।

यसैगरी, रेड अलर्टबाहेक अरू धेरै जिल्लामा पनि बाढी–पहिरोको खतरा बढेको विभागको आकलन छ। कोशी प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा, गण्डकी प्रदेशका गोरखा र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तुमा वाढि र पहिरोको खतरा छ।

यी क्षेत्रमा आइतबार बिहानसम्म नदी–नाला बढ्न, पहिरो खस्न र सडक अवरुद्ध हुनसक्ने प्रबल सम्भावना देखिएको छ। विभागका अनुसार आइतबार बिहानदेखि वर्षा गराउने प्रणाली पूर्वी नेपालतर्फ केन्द्रित हुनेछ। त्यसैले विशेषगरी पूर्वी तराई र मध्यपहाडी क्षेत्रमा बाढी–पहिरोको जोखिम उच्च रहनेछ।

सोमबार बिहानबाट भने वर्षा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। मौसमविद्हरूले बारम्बार सचेतना जारी गरे पनि स्थानीय बासिन्दा अझै जोखिमपूर्ण क्षेत्रमा बसिरहेका छन्। अधिकारीहरूले भने राति १० बजेदेखि २ बजेसम्मको समयलाई ‘मृत्युघण्टी’ भन्दै अत्यन्त सतर्क रहन आह्वान गरेका छन्।

यो परिस्थितिले मुलुक केवल प्राकृतिक प्रकोपकै चपेटामा नभई, विपद् व्यवस्थापन क्षमता, पूर्वाधार र सरकारको तयारीको स्तर पनि कठोर परीक्षामा परेको देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट