एमाले नेता महेश बस्नेत साईबर व्युरोमाः अदालतले पक्राउ अनुमति नदिएपछि बोलाएर बयान लिईँदै

काठमाडौँ— प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ। एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरी स्रोतले जनाएको छ।
पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन। तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो। प्रहरी स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए।
यसअघि प्रहरीले पक्राउ अनुमति मागे पनि अदालतले तत्काल अनुमति दिन अस्विकार गरेको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर बस्नेतविरुद्ध विद्युतीय कारोबार कसुर ऐन अन्तर्गत पक्राउ पुर्जी माग गरेको थियो। तर अदालतले तत्काल अनुमति नदिई, पक्राउका लागि आवश्यक थप प्रमाण पेश गर्न आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार, ‘अदालतले प्रहरीलाई बस्नेतविरुद्धका आरोपसँग सम्बन्धित थप प्रमाण प्रस्तुत गर्न भनेको छ, त्यसपछि मात्रै अनुमति दिने वा नदिने टुंगो हुनेछ।’
यससँगै प्रहरीले अब पुनः आवश्यक प्रमाण संकलन गरी अदालतमा बुझाउनुपर्ने भएको छ। जाहेरी दर्ता भए पनि प्रमाण पर्याप्त नभएको भन्दै अदालतले प्रारम्भिक अवस्थामा पक्राउ अस्वीकार गरेको बताइएको छ।
यता, नेता बस्नेतले भने अदालतको निर्णयलाई स्वागत गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु।’ बस्नेतले थप आरोप लगाउँदै भनेका छन्, ‘वर्तमान सरकारले राष्ट्रियता र जनहितका विषयमा मैले उठाएका मुद्दा दबाउन खोजेको छ।’
प्रहरीले भने अदालतको आदेशअनुसार थप प्रमाणसहित पुनः प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।
महेश बस्नेत, नेकपा एमाले, काठमाडौं जिल्ला अदालत, साइबर अपराध, विद्युतीय कारोबार कसुर ऐन, प्रहरी अनुसन्धान, अदालत आदेश, नेपाल राजनीति, गिरफ्तारी अनुमति, राष्ट्रियता मुद्दा