गाँजाको तालमा निकोलस भुषालले प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए ‘श्रद्धाञ्जली’

काठमाडौँ– माइतीघर मण्डलमा बिहीबार पक्राउ परेका अभियन्ता डा. निकोलस भुषाल पुनः विवादमा छन्।
जेन–जी आन्दोलनको नाममा विहिबार माईतीघरमा बिना अनुमति आयोजित कार्यक्रमबाट प्रहरीले उनीसहित ४४ जनालाई पक्राउ गरेको थियो। स्वास्थ्य परीक्षणपछि उनको रिपोर्टमा ‘गाँजा सेवन गरेको’ देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भुषाललाई सुधार केन्द्र पठाइएको छ। उनले भने, ‘मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पुष्टि भएपछि परिवारको जिम्मामा सुधार केन्द्र पठाएका हौं।’
भुषाल यसअघि पनि पक्राउ परेका थिए र त्यसबेला पनि उनले गाँजा सेवन गरेको रिपोर्ट आएको प्रहरीको दाबी छ। तर, उनी स्वयम भने आफू ‘गाँजा खाने होइन, गाँजा छुटाउने डाक्टर’ भन्दै प्रतिक्रिया दिने गरेका छन्।
बिहीबार माइतीघरमा पक्राउ परेपछि भुषालले प्रधानमन्त्री र गृहमन्त्रीलाई ‘हार्दिक श्रद्धाञ्जली’ भन्दै आलोचना गरेका थिए। जेनजी आन्दोलनमा मृत्यु भएका बालबालिकाको पक्षमा आवाज उठाउँदा आफुलाई पक्राउ गरिएको आक्रोश उनले ‘श्रद्धाञ्जली’ शब्दबाट पोखेका थिए।
अनुमति विना प्रदर्शन भइरहेको समयमा भुषालसहितका युवाहरूले नारा जुलुस सुरु गरेका थिए। जिल्ला प्रशासन कार्यालयले विहिबार कुनै पनि समूहलाई आन्दोलनको अनुमति दिएको थिएन। अनुमति पाएका समूहले समेत कार्यक्रम फिर्ता गरिसकेको समयमा भुषालको नेतृत्वमा प्रदर्शन सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको हो।