रास्वपाका सभापति रविसँगै जेलबाट भागेका कैदी ठमेलमा साथीको हत्या गरी फेरी फरार
काठमाडौँ — जेन–जी आन्दोलनको अवसरमा देशभरका कारागारहरूमा भएको आगजनी र भगदडबीच नख्खु कारागारबाट भागेका एक कैदीले राजधानीमा पुनः अपराध दोहोर्याएका छन्। लागु औषध मुद्दामा थुनिएका राप्ती गाउँपालिका–१ दाङका ३२ वर्षीय आकाश मगरले असोज १३ गते काठमाडौंको ठमेलस्थित बुद्धबार गल्लीमा आफ्नै साथी सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
सुरजलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी वीर अस्पताल लगिएको थियो, तर उपचारका क्रममा असोज १४ गते दिउँसो उनको मृत्यु भयो। प्रहरीका अनुसार सुरज र आकाश पुराना साथी थिए, र घटनाको रात उनीहरूबीच सामान्य विवाद भएको अनुमान छ। तर हत्या पछि आकाश फेरि फरार छन्।
अनुसन्धानका क्रममा आकाश लागुऔषध मुद्दामा २०८० असोज २७ गते पक्राउ परेर नख्खु कारागारमा थुनामा रहेको पुष्टि भएको छ। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारमा आगजनी र हुलदंगा मच्चिएको थियो, जसपछि सयौं कैदी फरार भएका थिए। प्रहरीका अनुसार फरार कैदीहरूमध्ये धेरै अझै पक्राउ परेका छैनन्।
यसअघि पनि फरार कैदीले भयावह अपराध गरेका छन्। असोज ५ गते काभ्रे पनौती–१२ का सन्तबहादुर तामाङले कारागारबाट भागेपछि आफ्नी श्रीमती मनीषा तामाङको हत्या गरी शव खाल्डोमा पुरेका थिए। यी घटनाहरूले देशभर कैदी फरारको श्रृंखला भयावह रूप लिइरहेको देखाउँछ।
तर यो घटनाको जरा केवल जेलमा भएको आगजनी वा भगदडमा सीमित छैन। जेन–जी आन्दोलनको दोस्रो दिन (२४ भदौ) रास्वपाका सभापति रवि लामिछानेलाई कारागारबाट निकालिएको रहस्य खुलेपछि घटनाले राजनीतिक स्वरूप लिएको छ।
गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगमा १९ असोजमा दर्ता भएको उजुरीमा यस घटनासँग जोडिएका उच्च अधिकारीहरूको नेक्सस खुलाइएको छ। उजुरीअनुसार तत्कालीन मुख्य सचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, र एआईजी दानबहादुर कार्कीले लामिछानेलाई कारागारबाट निकाल्न भूमिका गरेको आशंकाहरु उत्पन्न भएका छन्।
उक्त उजुरीमा भनिएको छ, रास्वपाका उपसभापति डीपी अर्याल, महामन्त्री मनिष झा, र रवि लामिछानेकी श्रीमती निकीता पौडेलसम्म यो छलफलमा सहभागी थिए। ‘एआईजी कार्कीले पटक–पटक डीपी अर्याललाई गृहसचिवलाई सम्पर्क गर्न निर्देशन दिएका थिए, र अन्ततः गृहसचिव, मुख्य सचिव र एआईजीबीच लामिछानेलाई निकाल्ने सहमति बनेको आशंका छ’– उजुरीमा भनिएको छ।
एआईजी कार्कीको भूमिका रहस्यमय छ। उनले रवि लामिछानेलाई जेलबाट निकालेर आफू आईजीपी बन्ने आशामा प्रहरीको प्रणालीलाई नै अपहरण गरेको आरोप छ। जेल ब्रेक, हुलदंगा उक्साउने र हातहतियार लुट्ने जस्ता गम्भीर अपराधका उनिमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ।
उजुरीका अनुसार, ‘प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, एआईजी कार्की, र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई निलम्बन गरी प्रहरी ऐन २०१२ अनुसार कारबाही गर्न आवश्यक छ। उनीहरूलाई बहालमै राख्दा प्रमाण नष्ट हुने जोखिम छ।’
यसरी, जेन–जी आन्दोलनका नाममा भएको कारागार आगजनी, रवि लामिछानेको नाटकीय रिहाई र त्यसै पृष्ठभूमिबाट फरार भएका कैदीहरूले अहिले राजधानीसम्म हत्या गर्ने अवस्था ल्याउँदा राज्य संयन्त्रको विश्वसनीयता गम्भीर संकटमा परेको देखिन्छ।
सुरक्षास्रोतहरूका अनुसार, फरार कैदीहरू पुनः सक्रिय अपराधी समूहमा फर्किरहेका छन्, जसले राजधानीमा समेत अपराध बढाएको छ। ठमेल हत्या प्रकरण त्यसको ताजा उदाहरण हो।

