बीपी प्रतिष्ठानमा करोडौंको औषधि गायब, आन्तरिक गडबडीको फन्दामा अस्पताल

धरान — सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको फार्मेसीमा ठूलो परिमाणमा औषधि हराएको तथ्य बाहिरिएको छ। प्रारम्भिक अनुसन्धानमै करिब पाँच करोडभन्दा बढी मूल्यका औषधि तथा नगद हिनामिना भएको देखिएपछि प्रतिष्ठानले विशेष छानबिन समिति गठन गरेको छ।
प्रारम्भिक विवरणअनुसार करिब पाँच करोड ५० लाख रुपैयाँ बराबरको औषधिमा अनियमितता फेला परेको छ। तीमध्ये ५० लाख रुपैयाँ बराबरका औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी भएको र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि भेटिएको जनाइएको छ।
औषधि हराउने घटनापछि प्रतिष्ठानले हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ। प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानका अनुसार समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उनले भनिन्, ‘यो घटना अहिलेको अवस्थामै घोटाला भनेर निष्कर्ष निकाल्ने स्थिति छैन, प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको हो। अन्तिम प्रतिवेदनपछि मात्र दोषी निर्धारण र कारबाही हुनेछ।’
डा. प्रधानले फार्मेसीमा अनियमितता भेटिएपछि छानबिन प्रक्रिया तीव्र पारिएको र दोषीमाथि कडा कारबाही गरिने तयारी भइरहेको बताइन्। उनले बिरामी सेवामा पर्ने असर न्यून पार्न वैकल्पिक औषधि आपूर्ति व्यवस्था मिलाउने तयारी पनि भइरहेको जनाइन्।
प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्तिमा फार्मेसी सञ्चालन ‘केटीएम सेक्युरिटी सर्भिसेस प्रालि’लाई ठेक्कामा दिइएको उल्लेख छ। प्रतिष्ठानका अनुसार बारम्बार पत्राचार गर्दा पनि उक्त कम्पनीले भौतिक परीक्षणका लागि आफ्नो प्रतिनिधि पठाएन। यस कारण फार्मेसीको वास्तविक अवस्था निर्धारण गर्न सकिएन र नियमित भुक्तानीसमेत रोकिएको बताइएको छ।
केटीएम सेक्युरिटी सर्भिसेसमार्फत कार्यरत कर्मचारीहरूले गत साउन १८ गतेदेखि मासिक तलब नपाएको भन्दै आन्दोलन गरेका थिए। आन्दोलनका कारण फार्मेसीमा औषधि बिक्री वितरण कार्य ठप्प भयो। त्यसपछि साउन २० मा प्रतिष्ठानले स्टक परीक्षण गर्दा औषधि तथा औषधिजन्य सामग्रीको गम्भीर अस्वभाविकता फेला परेको थियो। यही परीक्षणकै आधारमा निष्पक्ष छानबिनका लागि स्वतन्त्र समिति गठन गरिएको हो।
छानबिन अघि बढेसँगै प्रतिष्ठानले फार्मेसी अस्थायी रूपमा बन्द गरेको छ। फार्मेसी बन्द हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामीहरू बाहिरी मेडिकलबाट महँगो दरमा औषधि खरिद गर्न बाध्य भएका छन्। स्वास्थ्य बीमा अन्तर्गतको निःशुल्क औषधि सेवा समेत ठप्प भएपछि बिरामीहरू थप मारमा परेका छन्।