सेनाको जंगीअड्डामा सर्वसाधारण छिरेर रातभर तोडफोडः १२ घण्टा भित्रै थिए बोगटी, सेना बेखबर
काठमाडौँ— नेपाली सेनाको सबैभन्दा सुरक्षित र निगरानीयुक्त क्षेत्र मानिने जंगीअड्डामा एक सर्वसाधारण युवकले तारबार नाघेर रातभर तोडफोड मच्चाउँदै सेनाले सुँईकोसम्म नपाएको खुलासा भएको छ। देशको सैन्य नेतृत्वको मुख्यालयभित्रै यस्तो घटना घटेपछि सेनाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
घटना असोज १८ गते राति ११ बजेतिर सुरु भएको थियो। सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का २४ वर्षीय राहुल बोगटीले जंगीअड्डाको कम्पाउन्ड नाघेर भित्र पस्दा कुनै गार्डले पत्ता पाएनन्। त्यसपछि उनले त्रिभुवन आर्मी अफिसर क्लबको सभामण्डप भवनभित्र रहेको ड्राइसौनामा प्रवेश गरी त्यहाँका उपकरण, फर्निचर र सामग्री तोडफोड गरे। सेनाको दाबीअनुसार, यो तोडफोडबाट करिब ३७ हजार २ सय रुपैयाँ बराबरको क्षति पुगेको छ।
रातभर भवनभित्रै लुकेका बोगटी बिहान ११ः५० बजे क्लब हाउसको गेट नजिकबाट हामफालेर बाहिरिए। तबमात्र सेनाले जंगीअड्डाभित्र कुनै बाहिरी व्यक्ति घुसेको पत्ता लगायो। त्यसपछि सेनाको टोलीले नेपाल प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं महानगरपालिका–२८ स्थित संकटा मन्दिर परिसरमा फेला पारेर नियन्त्रणमा लियो।
सैनिक स्रोतका अनुसार, बोगटीलाई पक्राउ गरी सेनाले पत्रसहित नेपाल प्रहरीलाई बुझाएको छ। प्रहरीले उनलाई आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। आरोपी राहुलले त्यस वेला आफु ‘होसमा नभएको’ बताएका छन्।
प्रहरी अनुसन्धानका क्रममा बोगटीले आफू होसमा नभएको दाबी गरेका छन्। प्रहरीसँगको वयानमा उनले भनेका छन्–‘मलाई एक्कासी के भयो थाहा भएन। होस फर्कँदा म नेपाली सेनाको जंगीअड्डाभित्र पुगेको रहेछु।’
१२ वर्षदेखि काठमाडौंको न्युरोडमा डेरा गरी मजदुरी गर्दै आएका बोगटी असोज १५ गते बनेपामा काकाबाट टीका लिएर भोलिपल्ट सार्वजनिक बसमा काठमाडौं फर्किएका थिए। साँगाचोकबाट आरएनएसी अगाडिसम्म गाडीमा आएर संकटा मन्दिर नजिक दिदीको घरमा पुगेका उनले त्यसको अर्को दिन बिहानै घरबाट निस्किएर न्युरोडमा घुमफिर गरेका थिए।
राति करिब ११ बजे उनी सहिदगेट पुगेर तारबार नाघी जंगीअड्डा प्रवेश गरे। ‘के गरेँ, कहाँ गएँ, केही सम्झना छैन,’ उनले प्रहरीलाई भनेका छन्। राहुलविरुद्ध आपराधिक उपद्रव अन्तर्गत मुद्दा दर्ता गरिएको छ, जसमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ।
सैनिक स्रोतका अनुसार, घटना ‘सामान्य तोडफोड मात्र नभई प्रतिष्ठागत चुनौती’ हो। जंगीअड्डा, जहाँ प्रवेशका लागि अनुमति, परिचयपत्र र बहुस्तरीय सुरक्षा अनिवार्य हुन्छ। त्यहाँ एक सर्वसाधारणले रातभर आवतजावत र तोडफोड गर्न सक्नु, बिहानसम्म पत्ता नलाग्नु गम्भीर सुरक्षा कमजोरीको प्रमाण हो। सेनाको सुरक्षात्मक तयारी, सीसीटीभी निगरानी र गार्ड सिस्टमबारे अब भित्री पुनरावलोकन हुनु पर्ने अवस्था देखिएको छ।

