सुधन गुरुङ र सरकारबीच शक्ति संघर्षः मन्त्री र आइजिपी नियुक्तिमा दबाब, प्रधानमन्त्री र गृहमन्त्रीसँग चर्को मतभेद

काठमाडौँ — जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ अहिले आफ्नै अडानले बनेको सरकारसँग खुला संघर्षमा उत्रिएका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग नीति, नियुक्ति र शक्ति सन्तुलनका विषयमा असहमति चर्किँदै गएपछि उनले खुलेरै सरकारविरुद्ध मोर्चा खोलेका हुन्।

प्रधानमन्त्री र गृहमन्त्री दुवैसँग निकट सम्बन्ध राख्दै आएका सुधन अब ती दुवैलाई चुनौती दिँदै ‘राजीनामाको अभियान’ सम्म चलाइरहेका छन्। बिहीबार मात्रै उनले गृहमन्त्री अर्यालको विरोधमा सामाजिक सञ्जालमा पोस्टर नै सार्वजनिक गर्दै राजीनामा माग गरे।

करीब १० दिनअघि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग बालुवाटारमा भएको भेट सुधनका लागि निर्णायक मोड बन्यो। सुरुमा सामान्य छलफलका लागि पुगेका उनले मन्त्रिपरिषद्मा जेन–जी पुस्ताको प्रतिनिधित्व नभएको भन्दै भावना राउतलाई महिला तथा बालबालिका मन्त्री बनाउन आग्रह गरे। तर प्रधानमन्त्री र गृहमन्त्री दुबैको ‘छलफल गरौँला’ भन्दै टार्न खोजेपछि उनि आक्रोशित बने।

स्रोतका अनुसार उनले बारम्बार राउतको नाम उठाउँदै प्रधानमन्त्रीलाई ‘ढिपी’ गरे। अन्ततः प्रधानमन्त्री कार्की असन्तुष्ट भइन् र छलफल टुंग्याउने प्रयास गरिन्। तर सुधन त्यसैमा रोकिएनन्। उनले कात्तिक २७ मा रिक्त हुने प्रहरी महानिरीक्षकको पदबारे पनि सल्लाह माग्दै गृह र प्रहरी प्रशासनमा हस्तक्षेपको संकेत दिए।

प्रधानमन्त्रीले कडा प्रतिक्रिया दिइन् — ‘तपाईंहरू सुशासनको कुरा गर्नुहुन्छ, अनि बढुवा र नियुक्तिमा दबाब दिनुहुन्छ? यो नै नीतिगत भ्रष्टाचार हो।’ त्यसपछि गृहमन्त्री अर्यालले पनि स्पष्ट भने— ‘प्रहरी नियुक्ति विधि र नियमअनुसार हुन्छ, यसमा दबाबको अर्थ छैन।’

स्रोतका अनुसार यही क्षणबाट बैठक चर्कियो। सुधनले तीव्र प्रतिक्रिया दिँदै भने ‘जेन–जी आन्दोलनको बलमा बनेको सरकारले जेन–जीको म्यान्डेट बिर्सियो भने हामी पुनः सडकमा उत्रिन्छौं।’

आगामी प्रहरी महानिरीक्षक नियुक्तिमा सुधनले स्पष्ट नाम अघि सारेका छैनन, तर उनले ‘जेन–जी आन्दोलनको म्यान्डेटअनुसार काम गर्नेलाई नियुक्त गर्नुपर्छ’ भनेर दबाब दिइरहेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीले यसलाई अस्वीकार गरेपछि सुदनले दुवैलाई ‘जेन–जीको आत्मा बेचिएको’ आरोप लगाएका छन्।

प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार, ‘सुधनले पहिले फकाउने, नभए तर्साउने रणनीतिमा बालुवाटार पुगेका थिए। जब भावनालाई मन्त्री बनाउन नमानियो, उनी प्रहरी नियुक्तिमा समेत चासो देखाउन थाले।’

प्रधानमन्त्रीले आफू विधि र नियम अनुसार मात्रै काम गर्ने भन्दै चेतावनी दिइन्— ‘सरकार निर्णयमा कसैको दबाब स्वीकार्दैन।’ त्यसपछि सुधनले खुलेआम चेतावनी दिए — ‘जेन–जीसँग सल्लाह नगरी अघि बढे सडक आन्दोलनको विकल्प हुँदैन।’

त्यसपछि रिसाएका सुधनले गृहमन्त्री अर्यालविरुद्ध बिहीबार सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरे–‘प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी बच्छ भन्ने सोच्नु भ्रम हो। दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले भविष्य निर्धारण गर्नेछ।’ उनले थप लेखे — ‘जेन–जीको माग पूरा नभए निर्वाचन हुन दिइने छैन।’

गृहमन्त्री अर्यालविरुद्धको यो आक्रमणपछि सरकारभित्र असन्तुष्टि फैलिएको छ। स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले ‘राजनीतिक दबाबका कारण गृह प्रशासन निष्पक्षता गुमाउँदैछ’ भन्दै गम्भीर छलफल सुरु गरेकी छन्।

जेन–जी आन्दोलन सफल भएपछि सुधन राजनीतिमा प्रवेश गर्नुभन्दा बढी प्रशासनमा ‘छायाँ प्रभाव’ जमाउनेतिर लागेका छन्। भदौ २४ को आन्दोलनपछि पक्राउ परेकाहरूको रिहाइका लागि दबाब दिने, प्रहरी बढुवामा हस्तक्षेप गर्न खोज्ने र हाल आइजिपी नियुक्तिमा समेत चासो देखाउने क्रम निरन्तर जारी छ।

गृहस्रोतका अनुसार, भदौ २४ का आगजनी, लुटपाट र प्रहरी हत्या घटनाका अभियुक्तमाथि कारबाही रोक्न सुधनले दबाब दिइरहेका छन्। जब गृहले मान्दैन, उनी आक्रोशित हुन्छन्। अब सुधन गुरुङ खुलेर सरकारविरुद्ध उत्रिएका छन्। प्रधानमन्त्री र गृहमन्त्री दुवै उनको ‘नियन्त्रण बाहिर’ छन्। जेन–जी आन्दोलनबाट बनेको यो सरकारभित्र अहिले गहिरो शक्ति–संघर्ष सुरु भएको छ।

जेन–जीको म्यान्डेट बोकेका सुधन गुरुङ अहिले आफ्नै सरकारका शत्रु बन्न पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको उनको टकराव अब व्यक्तिगत हैन, राजनीतिक र संस्थागत दुवै बनेको छ। भविष्यमा सुधनको ‘दबाब राजनीतिले’ सरकारको स्थायित्व, प्रहरी नेतृत्वको विश्वसनीयता, र जेन–जी आन्दोलनको अस्तित्व सवै गम्भीर संकटमा पार्ने संकेत देखिएको छ।

को हुन सुधनले मन्त्री बनाउन खोजेकी भावना ?
झापाकी भावना राउत विवेकशीलबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। मेडिकल शिक्षा सुधार आन्दोलनमा सक्रिय र भारतमा केही समय बिताएकी उनी अहिले सुधन गुरुङको ‘राजनीतिक प्रस्ताव’ मा केन्द्रमा छिन्।

प्रधानमन्त्री कार्कीले भने उनलाई मन्त्री बनाउन अस्वीकार गरेकी छिन्। कार्कीका निकटहरूले भने, ‘जेन–जीमा सुधन मात्रै होइनन्, अन्य समूहहरू पनि छन्। एक जनाको दबाबमा मन्त्री बनाउन सकिँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट