सप्तरीमा यौन दुर्व्यवहारको आरोपमा कुटिएका प्रहरी जवान अनुसन्धानमा तानिए, अस्पतालमा उपचार हुँदै
राजविराज — ड्युटीमा रहेका प्रहरी जवानमाथि स्थानीय युवाले कुटपिट गरेको घटनाले सप्तरीमा नयाँ मोड लिएको छ। घटना सम्बन्धी अनुसन्धान अघि बढेसँगै प्रहरी जवानमाथि नै महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। यो विषय थप संवेदनशील बनेको छ।
विहिबार राजविराज नगरपालिका–६ मा गस्तीबाट फर्कँदै गरेका प्रहरी जवान दिपक साह सोनारमाथि स्थानीय युवकहरूले हातपात गरेको भन्दै प्रहरीले २१ वर्षीय लालु कुमार चौधरी र २२ वर्षीय विशाल चौधरीलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार जवान सोनारलाई कुटपिट गर्दा घाइते भएका कारण उनको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
तर घटनापछि स्थानीय समुदाय र नागरिक संगठनहरूले प्रहरीको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्। घटनामा संलग्न नभएका निर्दोष नागरिकलाई पक्राउ गरेको पनि स्थानीयको दाबी छ। स्थानीय स्रोतका अनुसार, प्रहरी जवान सोनारले तीन दिनदेखि विशाल चौधरीकी श्रीमतीलाई जिस्क्याउने र मोबाइल नम्बर माग्ने गर्दै आएका थिए।
यो कुरा उनले आफना श्रीमानलाई जानकारी गराएपछि विवाद र झडपको अवस्था आएको थियो। ‘महिलालाई बारम्बार जिस्क्याउने काम भएपछि उनका श्रीमानले विरोध जनाए, तर प्रहरीले उल्टै निर्दोषलाई पक्राउ गरी अन्याय गर्यो,’ हिन्दु सम्राट सेनाका एक पदाधिकारीले भने।
यसबीच जिल्ला प्रशासन कार्यालय, सप्तरीले पक्राउ परेकामाथि अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी पाँच दिनको म्याद थपेको छ। प्रहरीले भने घटनाको सम्पूर्ण पृष्ठभूमि बुझ्नका लागि विस्तृत अनुसन्धान सुरु गरेको बताएको छ।
घाइते प्रहरी जवान दिपक साह सोनार पनि अनुशन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यो स्थानीय बासिन्दा र नागरिक समूहहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले प्रहरीमाथि लगाइएका यौन दुर्व्यवहारका आरोपबारे पनि छुट्टै अनुसन्धान गर्न आग्रह गरेका छन्।
यो घटनाले सप्तरीमा प्रहरी–जनता सम्बन्धमा पुनः तनाव र अविश्वासको वातावरण सिर्जना गरेको छ। नागरिक समूहहरूले निर्दोषलाई रिहा गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् भने प्रहरी संगठनले भने शुक्रबार एक विज्ञप्ति जारी गर्दै यौन दुर्व्यवहारको घट्नालाई लुकाएर ‘कर्तव्य पालनाका क्रममा प्रहरीमाथि कुटपिट भएको’ कुरालाई प्रचारमा ल्याएको छ।
यो पनि,

