सप्तरीः अग्नीसाइरका अध्यक्षको राजीनामा विवाद अदालत पस्यो, १५ दिनभित्र प्रमाण पेश गर्न आदेश
राजविराज– सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनामा विवाद अदालत प्रवेश गरेको छ। अध्यक्ष चौधरीले आफूले नदिएको राजीनामा स्वीकृत गरेर अन्याय भएको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा रिट दायर गरेका थिए। उनीले गाउँपालिका कार्यालय लगायतलाई विपक्षी बनाएर परमादेशयुक्त उत्प्रेषण माग गरेका थिए।
बिहीबार भएको सुनुवाइमा न्यायाधीश सुभाष पौडेलको एकल इजलासले विपक्षीालाई आदेशबमोजिमका आधार, कारण र प्रमाण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। साथै, अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि मंसिर १ मा उपस्थित हुन आदेश गरिएको छ।
राजीनामा विवादसँगै राजनीतिक प्रक्रियामा पनि हलचल देखिएको छ। असोज ५ मा अध्यक्ष चौधरीले राजीनामा दिएको उपाध्यक्ष पक्षले दाबी गरेका छन्। कात्तिक १८ मा बसेको गाउँकार्यपालिकाको बैठकले राजीनामा स्वीकृत गरेको थियो। बैठककै निर्णयअनुसार उपाध्यक्ष कल्पना चौधरी कार्यवाहक अध्यक्ष बनेकी छन्।
त्यसैबीच, चार महिनादेखि तलब नपाएका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले सुरु गरेको आन्दोलन पनि प्रशासनसँगको सहमतिको आधारमा स्थगित भएको छ। बुधबार साँझ कार्यवाहक अध्यक्ष कल्पना चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले कर्मचारीसँग सहमति गरेपछि उनीहरूले आन्दोलन रोक्ने निर्णय गरेका हुन्।
सहमति अनुसार शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीलाई साउनदेखि पुससम्म (६ महिना)को तलब क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ। शिक्षकहरूले आन्दोलनका कारण प्रभावित कक्षाहरू अतिरिक्त समयमा सञ्चालन गर्ने जिम्मेवारी पनि लिएका छन्। प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार आइतबारसम्म तलब वितरण गरिने व्यवस्था मिलाईएको छ।
सहमति पश्चात कर्मचारीहरूले बिहीबारदेखि विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय पूर्ववत सञ्चालनमा ल्याएका छन्। गत साउनदेखि जनप्रतिनिधिबीचको द्वन्द्वका कारण तलब नपाएका कर्मचारीहरूले अघिल्लो मंगलबारदेखि विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयमा सेवा ठप्प गरी धर्ना दिइरहेका थिए।

