खानेपानी संस्थान राजविराजमा कस्ले र किन गर्यो तालाबन्दी ?
राजविराज — सप्तरीमा जेन–जी आन्दोलनका रूपमा सक्रिय युवाहरूले आइतबार दिउँसो नेपाल खानेपानी संस्थान, शाखा कार्यालय राजविराजमा तालाबन्दी गरेका छन्। दरबन्दीअनुसार ७औँ तहको कार्यालय प्रमुख पठाउनुपर्ने माग राखेर कार्यालयमा तालावन्दी गरिएको हो।
युवाहरुका अनुसार केही समयदेखि मनपरी ढङ्गले निमित्त प्रमुखको भरमा संस्थान चलाईएको छ। ०८१ भदौमा ८औँ तहका कार्यालय प्रमुखको सरुवा भएपछि ५औँ तहका राजाराम यादवलाई निमित्त प्रमुख बनाइएको थियो। तर हालै यादवलाई पर्सा, वीरगञ्ज सरुवा गरियो र फेरि सोही तहका दिपेन्द्र देवलाई निमित्त प्रमुखको जिम्मेवारी दिइयो। यही निर्णयविरुद्ध जेन–जी युवाहरू सडकमा उत्रिएका हुन्।
‘दरबन्दी ७औँ तहको छ, तर पटक–पटक ५औँ तहकै कर्मचारीलाई जिम्मेवारी दिनु सरासर गलत हो,’ जेन–जी युवा मुस्तकिम आलमले भने, ‘यदि ५औँ तहकै अधिकारीलाई प्रमुख राख्ने हो भने सरुवा किन गरियो? यही मनोमानीविरुद्ध हामी ताला लगाउन बाध्य भयौं।’
गत शुक्रबार नै उनीहरूले सीडीओमार्फत खानेपानी मन्त्रालयका सचिव र संस्थानका महानिर्देशकलाई ज्ञापन–पत्र बुझाएका थिए। तर माग सम्बोधन नभएपछि आइतबार संस्थानको मुख्य गेटमै तालाबन्दी गरिएको हो।
यद्यपि तालाबन्दीका बीचमा खानेपानी उत्पादन र वितरण भने अवरुद्ध भएको छैन। संस्थानका सहायक लेखा अधिकृत अजय बरियैत (यादव)का अनुसार दिउँसो २ बजेदेखि प्रशासनिक कामकाज ठप्प भएको छ। सेवाग्राहीका फाइल, बिलिङ र कार्यालयका अन्य काम भने रोकिएका छन्।
सीडीओ टुवराज पोखरेलले ताला खोल्ने विषयमा युवाहरूसँग समन्वय भइरहेको बताए। उनले आन्दोलनकारीको माग औपचारिक रूपमा सम्बन्धित निकायलाई जानकारी गराइएको र समाधानका लागि छलफल भइरहेको बताए।

