महोत्तरीको हलखोरी चोकमा भारतीय युवक कटुवा पेस्तोलसहित पक्राउ
महोत्तरी — महोत्तरीको एकडारा गाउँपालिका–४, हलखोरी चोकमा सशस्त्र प्रहरीले जाँचका क्रममा कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारीका अनुसार बिहारको सीतामढीस्थित पटदौरा ग्रामपञ्चायत, सिराहीपटिका २६ वर्षीय सरोजकुमार कुर्मी पक्राउ परेका हुन्।
कुर्मी सवार मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि लुकाइराखेको एक थान कटुवा पेस्तोल र एक थान गोली फेला परेको प्रहरीले जनाएको छ। हतियारसहित पक्राउ परेका कुर्मीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बढ्दो अवैध हतियार ओसारपसारलाई रोक्न चेकजाँच कडा पारिएको बताएको छ।
प्रतिक्रिया

