अख्तियारले ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनाको छानबिन थालेपछि रिसाए हर्क साम्पाङ
काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अगाडि बढाएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनाको आर्थिक गतिविधि र चन्दा संकलन प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेको छ। अख्तियारले गत मंसिर १४ गते औपचारिक पत्र पठाउँदै छानबिन प्रक्रिया सुरु गरेको हो।
अख्तियारले प्रतिष्ठानको दर्ता कागजात, विधान, पदाधिकारी विवरण, आर्थिक अभिलेख, आय–व्यय, बैंक खाताको स्टेटमेन्ट, चन्दा व्यवस्थापन, तथा जग्गा खरिद–बिक्रीसम्बन्धी सम्पूर्ण कागजात १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ। प्रतिष्ठानमार्फत चन्दा संकलन गरी सुम्निमा पारुहाङको मूर्ति निर्माण अभियान चलाउँदै आएका मेयर साम्पाङ भने उजुरीबारे आक्रोश ब्यक्त गरेका छन्।
उनले सञ्जाल मार्फत भिडियो शेयर गर्दै भनेका छन्, ‘हामीले गरेको राम्रो काम देखेर नसहेर कुन फटाहा, चोर, गधाले उजुरी हालेछ।’ उनले यस्ता उजुरीहरू आफूसँग नयाँ नभएको दाबी गर्दै धरानमा फूल रोप्दा, बिरुवा रोप्दा, ९८ दिनको अभियानमार्फत कोकाहाबाट पानी ल्याउँदा समेत उजुरी परेको स्मरण गरे।
अख्तियारले मागेका कागजातको जवाफ आफूले हिजो नै पठाइसकेको उनले बताएका छन्। साम्पाङले उजुरीलाई विकासविरोधी मानसिकताको उपज भन्दै आलोचना गरेका छन्। ‘मजस्तो कन्सेप्ट र भिजन भएका मान्छेले काम सुरु गर्दा विकास विरोधीहरू थुप्रो भेटिन्छन्। देश बिग्रेको यही सडे गलेको सोचका कारण हो,’ उनले भनेका छन्।
हरेक अभियानमा पारदर्शिता अपनाइएको तथा हिसाब–किताब सार्वजनिक गरिएको दाबी गर्दै उनले अनावश्यक उजुरी गर्नेहरूलाई व्यंग्य गर्दै भनेका छन्, ‘अब उजुरी÷फुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा नै भोट हाल्नु खुरुक्क।’

