जेनजीद्वारा ‘कुटिएका र भगाइएका’ पूर्वप्रधानमन्त्री जोडीको पहिलो अर्थपूर्ण भेटः देउवा भेट्न आफैं पुगे ओली
काठमाडौँ— जेन–जी आन्दोलनको राप र तापपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थपूर्ण भेट गरेका छन्। आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि भएको आक्रमण र त्यसपछि उपचारका लागि सिंगापुर पुगेको घटनाले उनीहरूबीचको संवाद पूर्णरूपमा रोकिएको थियो।
त्यसपछि भएको यो पहिलो भेटलाई ‘अर्थपूर्ण राजनीतिक संवाद’ का रूपमा हेरिएको छ। एमाले अध्यक्ष ओली दिउँसो महाराजगन्जस्थित देउवा निवासमा पुगेपछि सुरु भएको भेटवार्ता करिब एक घण्टासम्म चलिरहेको देउवा–ओली निकट स्रोतले जनाएको छ। छलफलमा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि उपस्थित थिए, जसले भेटलाई ‘व्यक्तिगत क्षति’ र ‘राजनीतिक संकट’ दुबैको संवेदनशील तहमा जोडेको छ।
यो भेट जेन–जी आन्दोलनपछि दुवै शीर्ष नेता पहिलोपटक औपचारिक रूपमा आमनेसामने भएको क्षण हो। भदौ २३–२४ का दिन आन्दोलन उग्र हुँदा देउवा दम्पतिमाथि भएको आक्रमण राजनीतिक मात्र नभई मानवीय त्रासदीका रूपमा स्मरणीय छ। आन्दोलनका क्रममा तत्कालिन प्रधानमन्त्री ओली राजिनामा दिएर वालुवाटारबाट भाग्नु परेको थियो।
त्यसपछि देउवा दम्पति केही समय उपचारका लागि सिंगापुर बसेका थिए। नेपाल फर्किएपछि पनि दुवै नेताबीच प्रत्यक्ष संवाद कहिल्यै भएको थिएन। यसअघि सत्ता साझेदारीका संवेदनशील वार्ताको समयमा २०८१ असार १५ मा देउवा बालकोट पुगेर ओलीसँग साढे तीन घण्टा गोप्य वार्ता वार्ता गरेका थिए। राजनीतिक वृत्तमा यो भेटलाई सत्ता समीकरण, जेनजी आन्दोलनपछिको अवस्था, पार्टीभित्रको सन्तुलन मिलाउने खेलका रूपमा केरिएको छ।
जेन–जी आन्दोलनले दुवै नेताको नेतृत्व–क्षमतामा गम्भीर प्रश्न उठाएको छ। यो भेटले आगामी राजनीतिक दिशा र सत्ता जोडघटाउनमा ठूलो परिवर्तनको संकेत गरेको विश्लेषकहरूको अनुमान छ।

