जेलमा छिरेर सुधनले रवि लामिछानेलाई भने– म छिट्टै गृहमन्त्री बन्छु, त्यसपछि तपाइँको लफडा साफ
काठमाडौँ— रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछानेलाई भेट्न विहिबार नक्खु कारागार पुगेका जेनजी अगुवा सुधन गुरुङले ‘आफू चाँडै गृहमन्त्री बन्ने र त्यसपछि लामिछानेलाई न्याय दिलाउने’ आश्वासन दिएकोको खुलासा भएको छ।
वैकल्पिक शक्तिहरूलाई मिलाउने प्रयास र राजनीतिक दाउपेचका लागि रवि भेट्न पुगेका गुरुङले लामिछानेलाई ढुक्क हुन भनेको पनि स्रोत बताउँछ। रवि लामिछानेलाई आफ्नो कानुनी विवाद, विशेष गरी सहकारी ठगी प्रकरणमा परेको अन्याय छिटो समाधान गर्न आवश्यक रहेको कुरामा गुरुङले समर्थन र प्रयासको आश्वासन दिएका थिए। ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस्, हैन भने न्याय होस्,’ गुरुङले रविको भनाइ उद्धृत गर्दै भने।
यो भेट राजनीतिक मात्र नभई वैकल्पिक शक्तिहरूको समन्वयका दृष्टिले पनि महत्वपूर्ण देखिएको छ। गुरुङले आफ्नो सक्रियता मार्फत काठमाडौँका मेयर बालेन्द्र साह, कुलमान घिसिङ र अन्य शीर्ष नेताहरूबीच समन्वयको भूमिका खेलेको दाबी गरेका छन्। उनको उद्देश्य वैकल्पिक धारका विभिन्न शक्तिहरूलाई एउटै ढाँचामा ल्याएर आगामी राजनीतिक र निर्वाचन प्रक्रियामा सकारात्मक प्रभाव पार्नु रहेको बताइन्छ।
स्रोतका अनुसार गुरुङको गृहमन्त्री बन्ने दाबी र रवि लामिछानेलाई न्याय दिलाउने आश्वासनले दलभित्र र विपक्षीबीच नयाँ तरंग सिर्जना गरेको छ। यसले राजनीतिक गठबन्धन, शक्ति समीकरण र निर्वाचनको तयारीलाई प्रभाव पार्ने सम्भावना बढाएको विश्लेषकहरू बताउँछन्।
तर गुरुङ गृहमन्त्री हुँदैमा रविका एक दर्जन कानुनी झमेला मिलाउन सक्ने अवस्था छैन। किनकी यसअघि उनी आफैँ उपप्रधान तथा दुई पटक गृहमन्त्री बनिसकेका ब्यक्ति हुन। त्यतिबेला उनले मिलाउन नसकेको र नमिल्ने विषय गुरुङले कसरी मिलाउलान ? भन्ने प्रश्नले पनि जन्म लिएको छ।
अर्कोतर्फ, गुरुङका पछिल्ला गतिविधि, कृयाकलाप र धम्कीपूर्ण अभिब्यक्तिले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल आजित छन्। जेन जीका नाममा भइरहेका विभिन्न हर्कत सरकारकै लागि असह्य भईरहेका छन्। उनीहरुको आडमा अधिकांशको मन्त्री बन्ने चाहना, कतिपयको विभिन्न पदमा पुग्ने सपनाको दबाब बढ्दै गएपछि कार्की र अर्यालले दिक्क मान्न थालेको बताइन्छ।
‘वाह्य शक्तिको चलखेल सोचेभन्दा धेरै र चुनाव हुन नदिने प्रपञ्चका कारण उनिहरु आजित छन्’ स्रोत भन्छ–‘यतिखेर प्रधानमन्त्रीलाई भन्दा कानुन व्यवसायी अर्याललाई गृहमन्त्रीको जिम्मेवारी घाँडो भएको देखिन्छ।’ मन्त्री निकटस्थ स्रोतका अनुसार सुधन गुरुङले एकपछि अर्को च्यालेञ्ज गरेसङ्गै अर्यालले दिग्दारी मान्न थालेका छन्।

