सप्तरीः २८ वर्ष पुरानो पुजारी हत्या प्रकरणमा फरार अभियुक्त रहेका राजगढका अध्यक्ष मण्डल सम्पर्कविहीन

राजविराज— २८ वर्षअघिको पुजारी हत्या प्रकरणमा अभियुक्त रहेका सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल अहिले सम्पर्कविहीन भएका छन्। मण्डलले अदालतमा हाजिर हुने आश्वासन दिएका थिए, तर शुक्रबारदेखि उनका सवै सम्पर्क सुत्र विच्छेद भएका छन्।

सप्तरीका सीडीओ टुवराज पोख्रेलका अनुसार, उनले अदालतमा हाजिर हुन्छु भनेका थिए। तर हिजो बिहानदेखि नै सम्पर्कमा नरहेपछि प्रहरीले खोजी गरिरहेको छ। मण्डल पछिल्लो समय लगातार मिडियामा छाएका थिए। उनलाई सुरक्षा निकायले निगरानीमा राखेको थियो।

सप्तरी प्रहरीले तीन वर्षअघि मण्डल र उनका बुबा गंगारामको सम्पत्ति रोक्का गर्न गरेको पत्राचार पनि अहिले कार्यान्वयनमा आएको छ। सप्तरी प्रहरीका इन्स्पेक्टर भानु खड्काले सात जनाको सम्पत्ति रोक्का गर्न २०७९ जेठ २५ गते नै मालपोत कार्यालयलाई पत्राचार गरेको थियो। तर तत्कालीन कार्यालयले कुनै प्रक्रिया अगाडि न बढाएको खुलेको छ।

भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख किशोर रामका अनुसार, शुक्रबार अध्यक्ष मण्डल र उनका बुबा (तत्कालिन बेल्हीचपेना गाविसका अध्यक्ष) को सम्पत्ति रोक्का गरिएको छ। अन्य पाँचजनाको खोजी पनि भइरहेको छ र उनीहरूको सम्पत्ति पनि रोक्का हुने जनाईएको छ।

अध्यक्ष मण्डल फरार भएपछि प्रशासनिक चुनौती पनि बढेको छ। उपाध्यक्षलाई कार्यवाहक बनाउने कानुनी प्रावधान बेवास्ता गर्दै मण्डलले वडाध्यक्ष अशोककुमार साहलाई १९ मंसिरदेखि कार्यवाहक अध्यक्ष बनाएका छन्। उपाध्यक्ष रेणु मण्डलले यस निर्णयलाई कानुनविपरीत ठहराउँदै अदालत र प्रशासनसँग समन्वय गरी कारबाही गर्ने संकेत गरेकी छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्छ। यस किसिमको कानुनविपरीत निर्णयले प्रशासनिक विवाद र राजनीतिक तनाब सिर्जना गरेको छ।

०५५ सालमा सप्तरीको तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या प्रकरणमा उनी फरार सातजनामध्येका एक थिए। १५ वैशाख ०७८ मा जिल्ला अदालतबाट मण्डलसहित सातजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी एमालेबाट राजगढ गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए।

अभियोगपत्र अनुसार हत्या घटनाको पृष्ठभूमि मन्दिरको ११ बिघा जग्गा विवाद थियो। पुजारीले मण्डलका बुबा गंगाराममाथि धम्की र लुटपाटको निवेदन दिएका थिए। गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या घटना भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

सोही घट्नाको छलफलका लागि भन्दै पुजारीलाई राजविराजमा बैठकमा बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुल नजिक हत्या गरी फालिएको अभियोगपत्रमा उल्लेख छ। पुजारीको अस्थिपञ्जर १० दिनपछि (३ साउन ०५५ मा) फेला परेको थियो र राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट