कुलमानको पार्टीमा महिला नेतृको विद्रोहः पद छाडेर कुलमानलाई नै राजीनामाको चुनौती
काठमाडौँ— उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले हेटौडामा भएको सडक विस्तारलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै पदबाट राजीनामा गरेकी छन्। हेटौंडाका घरधनीलाई उचित मुआब्जा नदिई, पूर्वसूचना विना बिजुली काटेर बलपूर्वक घर भत्काएको घटनाप्रति पार्टी नेतृत्व र सरकार मौन बसेको भन्दै उनले सामाजिक सञ्जालमार्फत तत्काल राजीनामा घोषणा गरेकी हुन्।
श्रेष्ठले पार्टीमा बसिरहनु भनेको अन्यायको भागिदार बन्नु भएकाले नैतिकताले अनुमति नदिएको दाबी गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु।’
उनले हेटौंडा सडक विस्थापितका घरमा विद्युत् काटेर दिउँसै बुल्डोजर लगाएको घटनालाई दमनकारी र मानवअधिकारविपरीत बताउँदै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको राजनीतिक तथा नैतिक जिम्मेवारीसमेत माग गरेकी छन्।
राजीनामा दिएपछि पनि श्रेष्ठ सरकारले गरेका निर्णयविरुद्ध खुलेर बोलिरहेकी छिन्। उनले अर्को स्टाटसमा लेखेकी छन्, ‘नैतिकता छ ममा। त्यसैले राजीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु। बस्।’ उनले वर्तमान सरकार ‘नेपाली जनताको नभइ एडीबी–एमसीसीको एजेन्डामा चलिरहेको’ आरोप लगाउँदै हेटौंडामा भएको सडक विस्तार प्रक्रियालाई योजनाबद्ध दमन भनेकी छन्।
श्रेष्ठ उज्यालो नेपाल पार्टीको अग्रपंक्तिमा रहेर सक्रिय भूमिकामा थिईन्। उनको अचानक राजीनामाले पार्टीभित्र नेतृत्वको आचरण, निर्णय–प्रक्रिया र मन्त्री कुलमान घिसिङको भूमिकाप्रति असन्तोष व्यापक रहेको संकेत दिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। यता उज्यालो नेपाल पार्टी नेतृत्वले भने श्रेष्ठको राजीनामाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
श्रेष्ठको राजीनामा अहिले हेटौंडा सडक विस्तारको विवादमा नयाँ आयाम बनेको छ। सडकमा उत्रिएका स्थानीयहरू न्यायसंगत मुआब्जा, विकृति–विसंगति रोकथाम र मानवअधिकारको संरक्षण माग गर्दै आएका छन्। उनीहरूको संघर्षमा साथ दिनु आफ्नो कर्तव्य भएको श्रेष्ठको भनाइ छ।

