गोवाको नाइट क्लबमा भीषण विस्फोटः ‘ओभरक्राउड’ र सुरक्षा लापरबाहीले २३ जनाको ज्यान गयो
काठमाडौँ– भारतको चर्चित पर्यटकीय गन्तव्य गोवामा भएको भीषण सिलिण्डर विस्फोट र त्यसपछिको आगलागीले २३ जनाको मृत्यु भएको छ। अरपोरा क्षेत्रमा रहेको एक भीडभाडयुक्त नाइट क्लब शनिबार मध्यरात करिब १२ बजे एकाएक ठूला आवाजसहित ग्याँस सिलिण्डर विस्फोट भएको थियो।
किचनतर्फ भएको सिलिण्डर विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा क्लबभित्र रहेका दर्जनौँ मानिस केही बेरमै धुवाँ र आगोको ज्वालामा घेरिएका थिए। सीमित निकास मार्ग, भीडको चाप र अन्धाधुन्द भगदौडका कारण धेरैजना बाहिर निस्कनै नसकेर ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। कतिपयको जलेर र कतिपयको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी पाउने वित्तिकै गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, स्थानीय मन्त्री तथा जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए। मुख्यमन्त्री सावन्तले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यो घटना केवल दुर्घटना होइन, लापरबाही र सुरक्षा कमजोरीको गम्भीर परिणाम भएको टिप्पणी गरे। दोषी जो–कोही भए पनि कडा कारबाही हुने उल्लेख गर्दै उनले तत्काल विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
घटनाले गोवाका नाइट क्लब तथा बारहरूको सुरक्षा व्यवस्था कति संवेदनशील र कमजोर अवस्थामा छ भन्ने प्रश्न उठाएको छ। यस्ता स्थानहरूमा आपतकालीन निकास, भीड व्यवस्थापन, अग्नि–नियन्त्रण उपकरण र सिलिण्डर तथा ग्याँसको व्यवस्थापनजस्ता आधारभूत मापदण्ड पनि पालनामा नआएको विशेषज्ञहरूको आरोप छ।
विशेषगरी पर्यटकको चाप बढ्ने मौसममा यस्ता क्लबहरूले ‘ओभरक्राउड’ को जोखिम लुकाएर व्यापार बढाउन मात्र ध्यान दिने गरेको स्थानीयहरू बताउँछन्। गोवा सरकारले घटनापछि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। क्लब सञ्चालक, प्राविधिक सुरक्षा निरीक्षक तथा अनुमति दिने सरकारी निकायको भूमिकाबारे पनि कडा प्रश्न उठ्न थालेका छन्।
प्रारम्भिक अनुसन्धानमै क्लबले क्षमता भन्दा धेरै मानिस भित्र्याएको र सुरक्षा व्यवस्थापन न्यूनतम स्तरको मात्र रहेको प्रस्ट भएको स्रोतहरूको भनाइ छ।

