सुनसरीमा जेन–जीको नाममा १५० घर खरानी, सवा अर्ब ध्वस्तः अपराधी खुला, राज्यको निष्क्रियतामाथि गहिरो प्रश्न

इटहरी— सुनसरीमा भदौ २३ र २४ गते जेन–जी आन्दोलनको आवरणमा भएको अराजकता भएको झण्डै तीन महिना बितिसक्दा पनि स्थानीयको घर–परिवार, पसिना र सम्पत्ति खरानी बनाउने वास्तविक ‘हुल’ अझै कानुनी दायराबाहिर छ।

इटहरीस्थित इलाका प्रहरी कार्यालयमा आगजनी गर्ने पाँचजनालाई पक्राउ गरे पनि निजी घर, होटल, व्यापारिक प्रतिष्ठान र पार्टी कार्यालयमा अन्धाधुन्ध तोडफोड र आगजनी गर्ने सयौँ व्यक्तिलाई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन।

भदौ २४ गते धरान, इटहरी, इनरुवा, महेन्द्रनगरदेखि बराहक्षेत्रसम्म जेन–जी आन्दोलनको नाममा संगठित भीडले राजनीतिकर्मी, जनप्रतिनिधि, व्यापारी र सर्वसाधारणका घरमा योजनाबद्ध रूपमा आक्रमण गरेको थियो। भाटभटेनीदेखि साना होटल, घर र निजी उद्योगहरूमा पेट्रोल छर्केर लुटपाटसहित आगो लगाइएको थियो। तर, यति ठूलो क्षतिमा समेत प्रहरीले अनुसन्धानलाई त्यसै छोडिदिएको पीडितहरूको गुनासो छ।

धरानका पूर्वमेयर मनोज मेन्याङबो, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, पूर्वउपमेयर मञ्जु भण्डारी, धरान उपमहानगरपालिका सदस्य सिर्जना नेपाल, इटहरीका मेयर हेमकर्ण पौडेल, इनरुवाका मेयर केदार भण्डारी, बराहक्षेत्रका मेयर रमेश कार्की तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको घरमा हिंसाको छाप अझै मेटिएको छैन। भीडले कांग्रेस, एमाले, माओवादीका पार्टी कार्यालय समेत वचेनन्।

पीडितहरूले किटानी जाहेरी दर्ता गराए पनि प्रहरी अनुसन्धान सुस्त र शंकास्पद छ। कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले ‘प्रहरीले प्रमाण भएका अपराधीलाई समेत जोगाइरहेको’ आरोप लगाए। धरानमा मात्र १५० भन्दा बढी व्यक्तिमाथि किटानी उजुरी परे पनि पक्राउ शून्य जस्तै छ।

पहिचानमा आईसकेका केही प्रमुख पात्रमाथि समेत प्रहरीले कारबाही प्रक्रिया अघि नबढाउनु अझै भयावह रहेको स्थानीयको आरोप छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमै निजी सम्पत्तिमा आगजनी र लुटपाटमा संलग्न देखिएका पत्रकार विमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई, दीपचन्द्र राईलगायतमाथि कारबाही नगर्नुले स्थानीयमा ‘कसलाई छुने, कसलाई नछुने’ भन्ने शक्ति–समीकरणले राज्य संयन्त्र कब्जा गरेको हो कि भन्ने शंका बढेको छ।

धरानका पूर्वमेयर मेन्याङ्बो भन्छन— ‘प्रहरीसँग प्रमाण थियो, नाम थियो, भिडियो थियो। तर, कारबाही शून्य। प्रहरीको यो कदमले अपराधीको हौसला वढेको र पीडितको पीडा बढ्दै गएको छ।’ त्यो दिन सुनसरीका २९ वटा सरकारी कार्यालयमा लगाइएको आगोले मात्रै १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। तर, यति ठूलो धनराशी ध्वस्त हुँदा पनि प्रहरीले हालसम्म ५ जनालाई मात्रै पक्राउ गरेको छ।

पक्राउ गरेका विजय लिम्बू, मदन खत्री, दीपेन्द्र कार्की, आभाष कार्की र सोनम कार्की पनि सामान्य स्तरका पात्र मात्र भएको पीडितको टिप्पणी छ। ‘घटना सचिन्थ्यो, तर प्रहरीले असली मास्टरमाइन्डहरूलाई नछुनु नै ठूलो समस्या हो,’ उनीहरू भन्छन्।

प्रहरी, प्रशासन र अदालतबीच तत्काल कडा कारबाही गर्ने सहमति भए पनि व्यवहारमा केही नदेखिदा पीडित थप निराश छन्। ‘कसैको होटल खरानी, कसैको घर जलेर समाप्त, कसैको आजीवन पसिना नष्ट। तर अपराधी खुलेआम हिँडिरहेका छन्,’ पीडित सुजेन्द्र तामाङ भन्छन्।

यता, सुनसरीका एसपी केशवकुमार थेबेले भने दोषीहरू ‘जति प्रभावशाली भए पनि’ कानुनी दायरामा ल्याइने दाबी गरे। कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेले जेन–जी आन्दोलनको अराजकतामा संलग्न सबैलाई कारबाही गरिने आश्वासन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट