सुनसरीको रामधुनीमा सिटी–सफारी चालकको गोली हानी हत्या गरेको घट्नामा सप्तरीका २ सहित ७ जना पक्राउ

इटहरी– सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको गोली हानी हत्या गरिएको घट्नामा संलग्न ७ जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

करिब दुई महिनासम्म भूमिगत बसेको सात जनाको एक संगठित समूह पक्राउ परेपछि यो हत्या आर्थिक लेनदेन र त्यसपछि बढ्दै गएको व्यक्तिगत ‘बदला’को हिंसात्मक रूपान्तरण भएको तस्बिर स्पष्ट बन्दै गएको छ।

असोज २५ गते साँझ ५ बजे नहर डिलको सुनसान सडकमा गोली हानी चौधरीको हत्या गरिएको थियो। प्र–१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका चौधरीलाई मोटरसाइकलमा आएका दुई भन्दा बढी व्यक्तिहरूले पछ्याएर सिधै टाउकोमा गोली हानेको प्रहरीले जनाएको छ।

आरोपित तत्कालै फरार भए। घटनास्थलबाट प्रहरीले गोलीका दुई–तीन खोका बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबका अनुसार, पछिल्लो ६० दिनको ‘ट्रयाकिङ’, डिजिटल फुटप्रिन्ट विश्लेषण र स्थानीय स्रोतको सहयोगपछि हत्यामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरू सीमापार नेटवर्कसँग समेत जोडिएको आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ। एसपी थेबेका अनुसार पक्राउ पर्नेमा रामधुनी–१, झुम्काका ४३ वर्षीय राजेश (राजकिशोर साह), सोही स्थानका ४० वर्षीय नन्दकिशोर साह, भोक्राह नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज–४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगंज–५ का २५ वर्षीय मिथिलेस यादव तथा सप्तरीको राजविराज –१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षकै प्रिन्सकुमार दास छन्।

प्रहरीका अनुसार समूहभित्र लामो समयदेखि चल्दै आएको आर्थिक कारोबारको विवादले हत्या भएको देखिएको छ। पछिल्लो समय रकम असुल–उपर, लेनदेन र धम्कीको तहसम्म पुगिसकेको तनाव अन्ततः गोलीकाण्डमा परिणत भएको थियो।

अहिले घटनास्थलको पुनर्निर्माणदेखि लिएर वित्तीय अभिलेखको क्रस–चेकसम्म प्रहरीले अगाडि बढाएको छ। चौधरीमाथि कसरी ‘टार्गेट’ गरियो, हत्याको योजना कहाँ बन्यो, कति दिनदेखि पछ्याएर हत्या गरियो लगायतका प्रश्नको उत्तर प्रहरीले दिएको छैन। यी सबै विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरीको दाबी छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट