रक्षक नै भक्षकः घरमा श्रीमती हुँदाहुँदै महिला प्रहरीसँग दोस्रो विवाह गरेको आरोपमा वहालवाला डीएसपी पक्राउ
काठमाडौँ— नेपाल प्रहरीका बहालवाला नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। कानुन कार्यान्वयन गर्ने संवैधानिक भूमिका पाएको प्रहरीका जिम्मेवार अधिकारी नै कानुन उलंघनमा संलग्न पाईएपछि उनलाई पक्राउ गरिएको हो।
डिएसपी नेपाललाई सोमबार साँझ रुपन्देही प्रहरीले जिल्ला अदालतको आदेशसहित नियन्त्रणमा लिएको हो। उनी पूर्वी नवलपरासीमा ड्युटीमै कार्यरत थिए। एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले दिएको लिखित उजुरीपछि पक्राउ पुर्जी जारी गरिएको थियो।
उजुरीमा उनले ‘डिएसपी नेपालले आफूलाई लुकाएर प्रहरीमै कार्यरत एक युवतीसँग दोस्रो विवाह गरेको’ आरोप लगाएकी छन्। कानुनी रूपमा स्पष्ट प्रतिबन्धित बहुविवाह मुद्दामा उच्च प्रहरी अधिकारी मुछिनु, संस्थागत नैतिकताको ठूलो चुनौतीका रूपमा देखिएको छ।
पुर्जी थाहा पाएपछि डिएसपी नेपाल आफैँ प्रहरी कार्यालय आइपुगेका थिए। उनलाई त्यतिवेलै नियन्त्रणमा लिइ तीन दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रमुख क्षेत्री बताउँछन्। घटनामा ‘दोस्रो श्रीमती’ भनिएकी प्रहरी युवती भने अहिलेसम्म फरार छन्, जसले मुद्दालाई झनै जटिल बनाएको छ। उनको खोजी र कानुनी प्रक्रियाका लागि रुपन्देही प्रहरीले विशेष टोली नै परिचालन गरेको छ।
डिएसपी नेपालको विगत पनि विवादित छ। उनी ०७४ सालतिर बुटवलस्थित रामनगर प्रहरी कार्यालयमा इन्चार्ज रहँदा ‘गाँजा कारोबारीसँग आर्थिक लेनदेन’ भएको आशंकामा विभागीय कारबाहीमा परेका थिए। सोही कारण उनी प्रहरी निरीक्षकबाट बढुवामा समेत छुटेका थिए। त्यो विवाद तामेलीमा राखिएको थियो, तर अहिले आएको बहुविवाह प्रकरणले उनको प्रहरी करियर फेरि एकपटक गम्भीर संकटमा परेको छ।
प्रहरी संगठनले भने मुद्दा व्यक्तिको पद वा हैसियत हेरी नचल्ने, कानुन बमोजिम निष्पक्षरूपमा अघि बढाइने स्पष्ट गरेको छ। तर प्रहरी अधिकारीमाथि नै दोहोरो वैवाहिक सम्बन्ध, त्यसमा पनि संगठनकै कर्मचारीसँग विवाह गरेको आरोप प्रमाणित भए, त्यो घटनाले संस्थागत अनुशासन र आन्तरिक स्वच्छतामाथि गहिरो प्रश्न उठाउने निश्चित छ।
यसबीच, डिएसपी नेपालमाथि आरोपित युवतीको अवस्था, उनी फरार हुनुको कारण र विवाहका कानुनी आधारबारे अनुसन्धान तिब्र बनाइएको प्रहरीले जनाएको छ।

