पूर्वमुख्यमन्त्रीका भाइको ताण्डवः ‘अमेरिका पुर्याइदिन्छु’ भन्दै ठगी, रकम फिर्ता मागेपछि २८ वर्षीय निरजको गोली हानेर हत्या
काठमाडौँ— बर्दियाको राजापुरमा २८ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोप लागेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाई ५१ वर्षीय महावीर चौधरी कैलालीबाट पक्राउ परेका छन्। महावीर पक्राउ परेसँगै हत्यासहित ‘तल्लो बाटो’ भएर अमेरिका पठाउने नाममा रकम उठाउने गिरोह, ठगी र आप्रवासन अपराध जोडिएको जटिल जालोको खुलासा हुन थालेको छ।
महावीरलाई बिहीबार बिहान करिब ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ मा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनी दाङको तुलसीपुर–६ निवासी हुन् भने लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुरका साइँला भाइ पनि हुन। तर परिवारभित्रको सम्बन्ध भने विगत दुई दशकदेखि टुटेको प्रहरी स्रोत बताउँछ।
निरजको हत्या आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको ‘हमार थारू घर एन्ड रेस्टुरेन्ट’ भित्र भएको थियो, जुन महावीरले आफ्नी साली रामकुमारी थारूसँग साझेदारीमा सञ्चालन गर्दै आएका थिए। रेस्टुरेन्ट रामकुमारीकै नाममा दर्ता छ। यही रेस्टुरेन्टमा महावीरले निरजको कन्चटमा गोली हानेर हत्या गरेका थिए। घटनास्थलबाट प्रहरीले गोलीका खोका तथा अन्य प्रमाण बरामद गरिसकेको छ।
प्रहरी अनुसन्धानले महावीरले निरजलाई ‘तल्लो बाटो हुँदै अमेरिका पुर्याइदिन्छु’ भन्दै ठूलो रकम लिएको, तर अमेरिका पुग्न नसकेपछि रकम फिर्ता गराउन दबाब बढेपछि महावीरले योजनाबद्ध रूपमा हत्या गरेको देखाएको छ। नातामा निरज महावीरकै नाति पर्छन्। अमेरिका ग्रीन कार्डधारी महावीर नेपाल–अमेरिका आउजाउ गर्थे र सोही आधारमा आफन्त तथा परिचित युवकहरूलाई अमेरिका छिराइदिने प्रलोभन देखाई रकम असुल्ने गरेको पनि खुलेको छ।
हत्या भएपछि महावीरले निरजलाई ‘बाँच्ला कि मर्छ’ भन्ने दोधारमा परेर तत्काल प्रमाण मेटाउने प्रयास गरेको प्रहरी बताउँछ। गोली प्रहार बिहान ८ बजे भए पनि उनीहरूले निरजलाई ११ बजेमात्र नेपालगन्जस्थित नर्सिङ होम पु¥याएका थिए। नजिकैको जिल्ला अस्पताल नलगी टाढाको निजी अस्पताल लैजान महावीरले नै निर्देशन दिएको प्रारम्भिक बयानले पुष्टि गरेको छ। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए।
रेस्टुरेन्टमा पुगेपछि प्रहरी टोलीले भुइँ पुछिएको, रगतका दाग मेटिएको र प्रमाण नष्ट गर्न खोजिएको अवस्था पाएपछि महावीरकी साली रामकुमारी थारू, उनका श्रीमान बुद्धि थारू र २२ वर्षीय छोरा राहुल थारूलाई समातेको हो। उनीहरूले नै निरजलाई गाडीमा राखेर नर्सिङ होम पु¥याएको बयान दिएका छन्।
महावीरको रेस्टुरेन्टबाट प्रहरीले उनको पासपोर्ट, अमेरिकी भिसा, अमेरिकी डलर र अन्य महत्वपूर्ण कागजात पनि बरामद गरेको छ। उनी गत वर्ष अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएपछि कडा गरिएको आप्रवासी नीतिका कारण ‘तल्लो बाटो’ मार्फत कसी–मेक्सिको हुँदै अमेरिका जान कठिन भएको परिप्रेक्ष्यमा पनि पैसा लिएर नपठाएको घटनाको थुप्रै उजुरी दर्ता हुन थालेका थिए।
त्यसैक्रममा निरजले बारम्बार रकम फिर्ता मागेपछि महावीर झन् आक्रामक बनेका थिए। यसअघि पनि महावीरलाई आप्रवासन ठगीकै आरोपमा दाङ प्रहरीले नियन्त्रणमा लिएको तर मुद्दा किन चलाइएको थिएन भन्ने प्रश्न अहिले फेरि उठेको छ। महावीर २०४७ सालमा पनि एक विद्यालयका प्रधानाध्यापकलाई ढुंगा प्रहार गरेर टाउको फुटाएको मुद्दामा फसेका थिए।
यता, हत्या पश्चात भारतमा मजदुरी गर्ने निरजका आमाबाबु नेपाल आएर किटानी जाहेरी दिएका छन्। निरज एक्लो छोरा थिए। केही वर्षअघि सर्पदंशबाट उनको कान्छा भाइको मृत्यु भएको थियो। प्रहरीले महावीरलाई चाँडै सार्वजनिक गर्ने तयारी गर्दैछ।
लोकप्रिय
ताजा अपडेट
प्रधानमन्त्री कार्कीले सुधन गुरुङलाई ‘जेठो छोरो’ भनेपछि जेनजीमा बिखण्डनः प्रधानमन्त्रीकै अगाडि यसरी च्यातियो १० बुँदे सम्झौता
पूर्वमुख्यमन्त्रीका भाइको ताण्डवः ‘अमेरिका पुर्याइदिन्छु’ भन्दै ठगी, रकम फिर्ता मागेपछि २८ वर्षीय निरजको गोली हानेर हत्या

