प्रधानमन्त्री कार्कीले सुधन गुरुङलाई ‘जेठो छोरो’ भनेपछि जेनजीमा बिखण्डनः प्रधानमन्त्रीकै अगाडि यसरी च्यातियो १० बुँदे सम्झौता
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौतालाई ‘ऐतिहासिक रेकर्ड’ भन्दै प्रशंसा गरेकै दिन सम्झौता भित्रैबाट बिखण्डन सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको हस्ताक्षर समारोह तनाव, हल्ला, आरोप–प्रत्यारोप र प्रतिरोधले भरिएको थियो।
समारोहमा प्रधानमन्त्री कार्कीले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सार्वजनिक रूपमा सम्बोधन गरिन्। उनले गृहमन्त्रीदेखि आईजीपीसम्म सबैलाई धन्यवाद दिएपनि सभाभित्रै असन्तुष्ट युवाहरू उठे। केही बेरको झडपपछि एक जेनजी अगुवाले प्रधानमन्त्रीकै अगाडि १० बुँदे सम्झौता च्यातेर फाले (उफारे)। संविधान पुनर्लेखन, शासकीय स्वरूप परिवर्तन र प्रत्यक्ष कार्यकारी संरचना जस्ता मूल मुद्दा सम्बोधन नभएको आरोप लगाउँदै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता च्यातेका हुन।
प्रधानमन्त्री कार्कीले सम्बोधन सकेपछि पनि हलमा होहल्ला, नाराबाजी र धकेलाधकेल जारी रह्यो। आन्दोलनकारीले सम्झौता ‘बन्द कोठामा’ बनेको भन्दै पारदर्शिता र वैधतामाथि प्रश्न उठाए। यद्यपी, सरकारी पक्षले सम्झौतामा सहिद घोषणा, घाइतेको उपचार, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणाली संशोधनसहितका कदम राखिएको बताएको छ।
तर असन्तुष्ट समूह यति धेरै छन् कि सरकार र जेनजीबीच हस्ताक्षर भएको सम्झौता लागू हुने विश्वास आन्दोलनकारी नेताहरूले राखेका छैनन्। उनीहरूको बुझाइमा आगामी सरकार नै यसको कार्यान्वयनबाट पन्छिनेछ। वर्तमान सरकार सम्झौतालाई ‘दराजमा थन्क्याउने’ बाहेक केही नगर्ने उनीहरूको आरोप छ।
दस बुँदे सम्झौताले जेनजी आन्दोलन शान्त पार्ने सरकारको प्रयासलाई सहज बनाएपनि आन्दोलन भित्रै देखा परेको विभाजनले सम्झौता ‘स्थायित्व खोज्ने कागज’ हैन, बरु ‘नयाँ बिखण्डनको शुरुवात’ बन्ने संकेत देखिएको छ।
जेनजी अगुवा रवि किरण हमालले सम्झौता नमान्ने घोषणा गर्दै यसलाई ‘देशका लागि घातक निर्णय’ का रूपमा व्याख्या गरे। उनका अनुसार बिना संरचनागत परिवर्तन चुनावमा जाने सरकारको निर्णय युवापुस्तामाथिको ‘धोका’ हो। उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको समूहलाई ‘सत्ता जोगाउन नाटक मञ्चन गर्ने गिरोह’ सम्मको संज्ञा दिए। भदौ २३ र २४ को युवा विद्रोहलाई ‘अपरहण गरेर काबु गर्ने योजनाबद्ध खेल’ भन्दै उनले सम्झौतालाई अस्वीकृत र निष्प्रभावी बनाउने घोषणा गरे।
यसैबीच सम्झौताविरुद्ध सडकमा उत्रिएका मिराज ढुंगाना र जितेन्द्रकुमार महतो सिंहदरबार गेटमै पक्राउ परे। जेनजी आन्दोलन संस्थागत गर्ने नाममा भएको सम्झौता ‘नक्कली’ भएको दाबी गर्दै उनीहरूको समूहले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लियो र पछि अनामनगरमा पु¥याएर छोड्यो। मिराज समूहले बिहानै विज्ञप्ति जारी गर्दै १० बुँदे सम्झौताप्रति असहमति प्रकट गरेको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गर्दै आउने निर्वाचन बहिष्कार गर्ने उनीहरूको घोषणापछि सुरक्षा निकायले समूहलाई ‘निगरानी’मा राखेको स्रोतले जनाएको छ।
राजसंस्था समर्थक जेनजी समूहहरूले पनि सरकार–जेनजी सम्झौतालाई ‘नाटक’ र ‘षड्यन्त्र’ को संज्ञा दिँदै प्रेस कन्फरेन्स गर्दै व्यापक असन्तुष्टि जनाए। उनीहरूले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरेर केही व्यक्तिले सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप लगाए। उनका अनुसार सरकारसँग हातेमालो गरी केही सीमित नेताहरूले आन्दोलनका माग, बलिदान र भावनालाई बन्धक बनाए।
लोकप्रिय
ताजा अपडेट
प्रधानमन्त्री कार्कीले सुधन गुरुङलाई ‘जेठो छोरो’ भनेपछि जेनजीमा बिखण्डनः प्रधानमन्त्रीकै अगाडि यसरी च्यातियो १० बुँदे सम्झौता
पूर्वमुख्यमन्त्रीका भाइको ताण्डवः ‘अमेरिका पुर्याइदिन्छु’ भन्दै ठगी, रकम फिर्ता मागेपछि २८ वर्षीय निरजको गोली हानेर हत्या

