आमाको स्वास्थ्यका लागि पूजा गरेर फर्किएका सविन गोवाको आगलागीमा अस्ताए, भद्रपुरमा शोक
भद्रपुर— साताअघि भारतको उत्तरी गोवास्थित नाइटक्लब तथा रेस्टुराँमा भएको आगलागीमा परी २५ जनाको ज्यान गएको घट्नाले झापाको भद्रपुर नगरपालिकामा पनि शोक छाएको छ। उक्त घट्नामा परी भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्माको पनि मृत्यु भएको थियो।
सविनको मृत्युको खबरसँगै परिवारसहित सिङ्गो गाउँ स्तब्ध छ। आमाको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा पूजा गरेर फर्किएको केही घण्टामै सविनको ज्यान गएको थियो। गत शनिबार नाइटक्लबमा भीषण आगलागी हुँदा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। सविन सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत थिए। उनको निसास्सिएर ज्यान गएको जनाईएको छ।
घटनापछि बिहीबार मात्रै उनको शव झापा ल्याइएको थियो भने शुक्रबार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। आगलागी हुनुअघि सविनले फेसबुक मेसेन्जरमार्फत आमासँग भिडियो कलमा कुराकानी गरेका थिए। आमाको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा पूजा गरेर फर्किएको भन्दै हाँस्दै कुरा गरेका सविनसँगको त्यो संवाद नै अन्तिम भएको परिवारले जनाएको छ।
‘सुन्दा पत्याउँनै गाह्रो भयो, शव देखेपछि मात्र अव छोरा रहेन भनेर विश्वास गर्न कर लाग्यो’ बुबा टीकाराम विश्वकर्माले भने, ‘नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो।’ सविन टीकाराम र लालमाया विश्वकर्माका जेठा छोरा हुन्। उनले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गरेका थिए।
अध्ययनपछि भारतको सिलिगुडीमा छ महिना इन्टर्नसिप गरेका सविन केही समय झापाका होटलमा काम गरेपछि रोजगारीका लागि गोवा पुगेका थिए। पछिल्लो छ महिनादेखि उनी सो नाइटक्लबमा सेफका रूपमा कार्यरत थिए।
परिवारका अनुसार सविन कामप्रति इमानदार र जिम्मेवार थिए। ‘अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर तपाईंहरूलाई सहयोग गर्छु,’ भन्दै उनी काममा निस्किएका थिए। कामको वातावरण र तलबप्रति सन्तुष्ट रहेका सविनले नियमित रूपमा घर खर्च पठाउँदै आएका थिए।
सविनका बुबा विगत १८ वर्षदेखि साउदी अरब, युएई हुँदै हाल मलेसियामा वैदेशिक रोजगारीमा छन् भने आमा चार वर्षदेखि कुवेतमा कार्यरत थिइन्। छोराको शव नेपाल आइपुगेकै दिन दुवै जना स्वदेश फर्किएका थिए।
घटनामा भारत सरकार र गोवा राज्य सरकारले मृतकका परिवारलाई राहत दिने घोषणा गरेका छन्। आवश्यक कागजात पठाउने प्रक्रिया अघि बढिरहेको सविनका आफन्तले जानकारी दिएका छन्। गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडुगुरा विमानस्थलसम्म ल्याई त्यहाँबाट एम्बुलेन्समार्फत झापा पुर्याएको जनाइएको छ।
सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँलाई शोक पुर्याएको छ। घरमा रहेका नौ वर्षीया बहिनी र चार वर्षका भाइले ‘दाइ कहिले फर्किन्छन् ?’ भनेर सोधिरहँदा परिवारसँग जवाफ छैन। परदेशी श्रम, पारिवारिक जिम्मेवारी र अधुरा सपनाको प्रतीक बनेको सविनको मृत्युले धेरै नेपाली युवाको यथार्थलाई उजागर गरेको छ।

