श्रीमती बेपत्ता भएको भन्दै जाहेरी दिने श्रीमान नै हत्यारा, १९ दिनपछि पक्राउ, अलैंचीबारीमा भेटियो शव
विराटनगर— संखुवासभामा श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका ब्यक्ति नै हत्यारा भएको पुष्टि भएको छ। प्रहरीले हत्या आरोपमा १९ दिनपछि मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई पक्राउ गरेको छ।
उनिमाथि आफ्नै श्रीमती ३७ वर्षीया मीना शेर्पाको हत्या गरी शव गाडेको आरोप प्रहरीले लगाएको छ। प्रहरीका अनुसार मंसिर ९ गते राति करिब साढे १० बजे ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमान–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा प्रेम दोर्चीले बाटोमै कुटपिट गरी श्रीमती मीना शेर्पाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि उनले सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी त्रिपालले बेरेर शव गाडेको स्वीकार गरेका छन्। घटनापछि प्रेम दोर्चीले मंसिर २७ गते प्रहरी चौकी मादी, मङ्गलबारेमा श्रीमती बाटोबाटै बेपत्ता भएको भन्दै निवेदन दिएका थिए। तर खोजतलास र सोधपुछको क्रममा प्रहरीको शंका उनैमाथि केन्द्रित भएपछि कडाइका साथ गरिएको सोधपुछमा उनले हत्या गरेको स्वीकार गरेका थिए।
संखुुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट इन्स्पेक्टर पर्शुराम राईको नेतृत्वमा खटिएको टोलीले अलैँची बारीमा उत्खनन गर्दा जमिनमुनि त्रिपालले बेरेको अवस्थामा महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको छ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले प्रेम दोर्चीलाई तत्काल नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनलाई आइतबार संखुवासभा जिल्ला अदालत, चैनपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

