सप्तरीमा बैंक कर्मचारीलाई बन्धक बनाएर मोसो दलेको घट्नामा उपमेयरका श्रीमानसहित २ जना पक्राउ

राजविराज— सप्तरीमा ऋण असुलीका लागि फिल्डमा खटिएका ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक वनाई, कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र कुटपिट गर्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीका श्रीमानसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उपमेयर रिताका श्रीमान सप्तकोशी–७, ओद्राहका सञ्जिवकुमार चौधरी र सप्तरीकै अग्निसाईर कृष्णसवरण गाउँपालिका– १ घर भएका उमाकान्त चौधरी छन्। उनिहरुलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले आजै पक्राउ गरेको हो।

बैंकले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनिहरु दुवै जना सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिका शेयरधनी हुन। उजुरीमा सञ्जिव र उमाकान्त वाहेक प्रभुनारायण चौधरी, उपमेयर रिताकुमारी चौधरी, उनका छोरा सिरज चौधरी, पञ्चदेव चौधरी र रवीन्द्र स्वर्णकारको नाम पनि उल्लेख छ। बाँकीलाई भने प्रहरीले पक्राउ गरिसकेको छैन।

घटना फार्मको परिसरमा गत बुधबार भएको हो। ऋणीसँग संवाद गर्न र ऋण नियमितीकरणबारे छलफल गर्न पुगेका बैंकका दुई कर्मचारीमाथि सुनियोजित रूपमा मोसो दल्दै कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ज्योति विकास बैंकको प्रादेशिक कार्यालय बर्दिवासका उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठ सो प्रालिमा पुगेका थिए। तर संवादको साटो उनीहरूलाई उपमेयर चौधरीसहित प्रालिका सेयरधनी तथा उनीहरूका आफन्तले घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लट्ठीले कुटपिट गरेको भिडियोमा देखिन्छ।

बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न पुगेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको हो। ‘कर्मचारीको मनोबल तोड्ने उद्देश्यले मोसो दल्ने, अपमान गर्ने र कुटपिट गर्ने काम भएको छ,’ बरालले भने, ‘यस घटनाविरुद्ध बैंक कानुनी प्रक्रियामा अघि बढिसकेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट