मोबाइल चोरीको आरोपमा युवकको हत्याः भिसेरा रिपोर्ट नआउँदै आरोपित धरौटीमा छुटे
राजविराज — मोबाइल चोरीको आरोप लगाएर गरिएको अमानवीय कुटपिटका कारण १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको प्रकरणमा सप्तरी जिल्ला अदालतले दुई जना आरोपितलाई धरौटीमा रिहा गरेको छ। एक जना नाबालकलाई भने अभिभावकको जिम्मामा छाडिएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासमा सोमबार र मंगलबार भएको सुनुवाइपछि राजविराज नगरपालिका–१६ बोरियाकी ३५ वर्षीया सरोकुमारी साहलाई दुई लाख रुपैयाँ र २५ वर्षीय सन्तोषकुमार राउतलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो। घटनामा संलग्न १८ वर्षीय रवीन्द्र ठाकुर नाबालक ठहर भएपछि उनलाई अभिभावकको जिम्मामा छाडिएको छ।
घटनाको पृष्ठभूमि अत्यन्तै दर्दनाक छ। यस्तो घट्नामा आरोपितहरु न्यायिक प्रक्रियाबाटै छुटेपछि पीडित परिवार थप आक्रोशित र निराश बनेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार मंसिर ३ गते मोबाइल चोरी गरेको आरोप लगाउँदै सरोकुमारी साहले मुकेशलाई नियन्त्रणमा लिई छिमेकीको सहयोगमा आँपको रुखमा बाँधेर निर्घात कुटपिट गराएकी थिइन्।
मुकेशले चोरी गरेको भनिएको मोबाइल विष्णुपुर गाउँपालिका–४ कन्कट्टास्थित आफ्नो मामाघरमा लगेको आशंका गर्दै उनीहरूले उनलाई ई–रिक्सामा बाँधेरै त्यहाँ पु¥याएका थिए। कन्कट्टामा पनि मोबाइल नभेटिएपछि आक्रोश अझै बढ्दै गयो। उनीहरू मुकेशलाई ई–रिक्सामै बाँधेर कुटपिट गर्दै पुनः बोरिया फर्कन लाग्दा बाटोमै मुकेश अचेत भएका थिए।
अचेत अवस्थामा उनलाई परिवारको जिम्मा लगाइए पनि पुनः कुटपिट हुन सक्ने डरले परिवारले त्यही दिन उनलाई अस्पताल लैजान सकेन। अर्को दिन मुकेश ज्वरोले पनि ग्रसित भएपछि मंसिर ५ गते मात्रै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो।
तर त्यहाँ आईसीयू नहुँदा उपचार सम्भव नभएपछि दिउँसो स्थानीय निजी अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा मुकेशको मृत्यु भएको थियो। घटनापछि गरिएको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण स्पष्ट नखुलेपछि भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार (ललितपुर) पठाइएको छ।
तर, भिसेरा रिपोर्ट आउनुअघि नै अदालतबाट आरोपितहरू धरौटीमा छुटेपछि मृतकका परिवारले न्यायमाथि प्रश्न उठाएका छन्। एक साधारण चोरीको आरोपमा गरिएको क्रूर कुटपिटले एक युवकको ज्यान गएको यो घटनाले समाजमा बढ्दै गएको भीडन्याय, कानुन हातमा लिने प्रवृत्ति र कमजोर वर्गको जीवन सुरक्षामाथि गम्भीर सवाल खडा गरेको छ।
यो पनि,

