उदयपुरमा आमालाई कुटपिट गरेको विवादमा दाजुले गरे भाईको हत्या, खुकुरी हानेर भागेका युवराज १६ घण्टापछि पक्राउ
गाईघाट– उदयपुरमा खुकुरी प्रहार गरी आफ्नै भाईको हत्या गरी भागेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१ का ४३ वर्षीय युवराज राईलाई प्रहरीले शनिवार साँझ त्रियुगा नगरपालिका–४, सालघारी क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार युवराजले शनिवार विहान करिब २ बजे भाई ३० वर्षीय धर्मराज राईमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर उपचारकै क्रममा करिव ३ बजे उनको मृत्यु भएको थियो।
प्रारम्भिक अनुसन्धानमा आमालाई कुटपिट गरेको विषयमा दाजु–भाइबीच विवाद भएको थियो। सोही विवादका क्रममा आक्रोशमा आएका युवराजलाई धर्मराजको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए।
घटनापछि फरार भएका युवराजलाई १६ घण्टापछि शनिवार साँझ साढे ६ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको डीएसपी केदारमान दोङले जानकारी दिए। घटनाको विस्तृत अनुसन्धान भईरहेको उनको भनाई छ।

