अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका नाइके प्रकाश पाठक पक्राउ
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई विदेशबाट पटक–पटक ज्यान मार्ने धम्की दिँदै आएको उग्रवादी समूहका मुख्य नाइके प्रकाश पाठक पक्राउ परेका छन्। फिलिपिन्सको राजधानी मनिलामा रहेका उनलाई त्यहीँको प्रहरीले पक्राउ गरेको हो।
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ का प्रमुख भनिएका पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा फिलिपिनो प्रहरीले पक्राउ गरेको उच्च स्रोतले जनाएको छ। मंसिरको दोस्रो साता उक्त समूहले प्रमुख आयुक्त राईलाई १० दिनको अल्टिमेटम दिँदै राजीनामा नदिए हत्या गर्ने धम्की दिएको थियो।
अख्तियारको आधिकारिक इमेल ठेगानामा पठाइएको सन्देशमा समूहले १० जनाको हत्या गर्ने योजना बनाएको र त्यसमा राईको नाम पनि समावेश रहेको उल्लेख गरिएको थियो। इमेलमा ‘१० दिनभित्र राजीनामा नदिए आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ’ भन्ने शब्दावली प्रयोग गरिएको थियो।
उक्त धम्की आफूलाई समूहको संगठन प्रमुख बताउने प्रकाश पाठकको हस्ताक्षरसहित आएको थियो। पत्रमा उनले हत्याको काम आफूहरूले नगरी फरार कैदीमार्फत गराइने, त्यसका लागि आर्थिक सहयोग उपलब्ध गराइने र घटनाको जिम्मेवारी भने समूहले नै लिने उल्लेख गरेका थिए।
यही आशयको धम्की पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देशमा पनि सार्वजनिक गरेका थिए। प्रहरीका अनुसार धम्की आएलगत्तै संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको लोकेसन ट्रयाकिङ भइरहेको थियो। अनुसन्धानका क्रममा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको उक्साहटमा पाठक समूहले विदेशबाट धम्की दिएको हुनसक्ने कोणबाट पनि छानबिन अघि बढाइएको थियो।
केही दिनपछि नै अधिकारी भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा पक्राउ परिसकेका छन्। अधिकारीमाथि यसअघि पनि जेन–जी युवाको समूह प्रयोग गरेर आफ्ना आलोचकलाई धम्क्याएको आरोप लाग्दै आएको थियो।
प्रहरी स्रोतका अनुसार हाल मनिलामा रहेका पाठकलाई पक्राउ गरी नेपाल ल्याउने तयारी भइरहेको छ। पक्राउपछि औपचारिक हस्तान्तरण प्रक्रियामा कम्तीमा दुई दिन लाग्ने र नेपाल प्रहरीको विशेष टोली मनिला जाने–आउने प्रक्रिया मिलाउँदा करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ।
यसैबीच, पाठकले पछिल्लो पटक प्रमुख आयुक्त राईलाई पुनः धम्की दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पक्राउ नगरेको विषयमा आक्रोश व्यक्त गरेका थिए। ‘अहिले तपाईं सुरक्षा घेरामा हुनुहुन्छ, तर माधव नेपाललाई दुई दिनभित्र पक्राउ गरेर जेल नहालिए तपाईंका परिवारका सदस्यलाई सिध्याउन हाम्रा सुटर तयार छन्,’ भन्दै परिवारलाई लक्षित धम्कीसमेत दिइएको प्रहरी स्रोतले जनाएको छ।
उक्त घटनाक्रमले संवैधानिक निकायका प्रमुखमाथि संगठित रूपमा गरिएको अन्तर्राष्ट्रिय स्तरको धम्की, त्यसमा राजनीतिक र प्रशासनिक शक्तिकेन्द्रसँग जोडिएका शंकाहरू, र राज्यको सुरक्षा चुनौतीलाई गम्भीर रूपमा उजागर गरेको छ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक पाठक पटके कसुरदार हुन। उनी चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ। पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको छ।
९ असार २०७० मा केही सार्वजनिक अपराधको कसुरमा प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो। पहिलो पटक बौद्ध प्रहरीले उनलाई आज भन्दा १२ वर्ष पहिला पक्राउ गरेर मुद्दा चलाएको थियो। हो–हल्ला गरी सवारी आवगमनलाई अवरोध गरेको कसुरमा दोस्रो अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो। सार्वजनिक अपराधको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट छुटेका उनी पहिलो पटक पक्राउ परेको ६ वर्षपछि फेरि आपराधिक धन्दामा लागेको खुलेको छ। २३ जेठ २०७६ मा ठगी विश्वासघात तथा आपराधिक लाभको कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो।
बाँकेको नेपालगञ्ज उपमहानरपालिका–९ कि मिमकोषा शाहीका छोरा दिवस बिसी एमबीबीएस अध्ययन गर्नेभन्दै भरतपुर मेडिकल कलेजमा आवेदन दिएका थिए। साथीमार्फत दिवसको चिनजान पाठकसँग भएको थियो। पाठकले नै दिवसलाई डाक्टर अध्यनन गर्न नाम निकादिने भन्दै प्रलोभन देखाएका थिए।
पाठकले आफूले स्वास्थ्य मन्त्रालयको मन्त्रीको पीए र वरिष्ठ व्यक्तिलाई चिनेको भन्दै नाम निकाल्नुपर्ने भए कम्तीमा पनि १२ लाख लाग्ने बताएका थिए। डाक्टर अध्ययनका लागि छोराको नाम निकाल्दिने बताएपछि विश्वास गरेर १२ लाख रुपैयाँ पाठकलाई दिएको तर काम नभएको भन्दै मिमकोषाले जाहेरीमा दिएकी थिईन।
‘नेपालगञ्जमा रहेको घर राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी निकालेको पैसा एनआईसी एसिया बैंकको चेकमार्फत पाठकको अकाउन्टमा जम्मा गरिदिन खोज्दा अहिले कसैको पनि नाम नलेखी चेक दिनु भनेपछि मैले ३ वटा चेकमार्फत १२ लाख रुपैयाँ दिएको हुँ,’ मिमकोषाले जाहेरीमा उल्लेख गरेकी थिइन्।
मुद्दा परेर पक्राउ परेपछि रकम फिर्ता गरेको प्रहरीको अभिलेखमा देखिएको छ। अर्को ६५ लाख रुपैयाँ ठगीको मुद्दाका उनी फरार अभियुक्त हुन। उनीविरुद्ध परिसर काठमाडौंमै २६ मंसिर २०८० मा अर्को ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा जाहेरी परेको देखिन्छ । ६ जनाबाट उनले ६५ लाख ठगी गरेर फरार भएको देखिएको हो ।
उनीविरुद्ध सुरेश ताङनी, देवराज थापा, नबीन गुरुङ, जेनिश अधिकारी, राजु आचार्य र युवराज रेश्मी मगरले जाहेरी दिएका थिए । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाउने भन्दै उनीहरूबाट पाठकले ६५ लाख उठाएर फरार भएको देखिएको छ।
पीडित युवाहरूले दिएको जाहेरी अनुसार पाठकले ठमेलको छायाँ सेन्टरमा कन्सलटेन्सी चलाउँथे। उनै पाठकले वैदेशिक रोजगारीमा न्यूजिल्याण्ड पठाउने बताएपछि छायाँ सेन्टरको कन्सलटेन्सीमै पुगेर रकम दिएको जाहेरीमा उल्लेख छ।
विदेश जान भनेर रकम दिएपछि भने उनी सम्पर्कबिहिन भएको बताइएको छ। जाहेरवाला मध्ये राजु आचार्य अवकाशप्राप्त नेपाली सेना हुन्। अवकाश भएपछि रोजगारीका लागि विदेश जाने भन्दै रकम बुझाएको उनले बताएका छन्।


