सप्तरीमा त्रिकोणात्मक भिडन्त चिर्दै राजेन्द्र महतोको इण्ट्रीः के गर्लान सीके, उपेन्द्र र उमेश ?

राजविराज — राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाबाट उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। पार्टीको सप्तरी जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ अध्यक्ष राजेन्द्र महतोसहित ६ जनाको नाम सिफारिस गर्दै औपचारिक निर्णय सार्वजनिक गरेको छ।

जिल्ला कार्यसमितिका अध्यक्ष दीपेन्द्रकुमार चौधरीका अनुसार क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा उम्मेदवारहरूको नाम टुंगो लगाइएको हो। प्रत्यक्षतर्फ सप्तरी क्षेत्र नम्बर २ बाट पार्टी अध्यक्ष राजेन्द्र महतोसहित केशव झा, महेशप्रसाद यादव र रिणा झालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यो क्षेत्रलाई पार्टीले रणनीतिक रूपमा महत्वपूर्ण मान्दै शीर्ष नेतृत्वसहित अनुभवी र नयाँ अनुहारलाई एकसाथ अघि सारेको देखिन्छ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका थिए। जहाँ तत्कालिन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री उमेशकुमार यादव पनि उम्मेदवार थिए।

सीके राउत, उपेन्द्र यादव र उमेश यादवको त्रिपक्षिय भिडन्त हुने गरेको यो क्षेत्रमा महतोको इण्ट्री भयो भने प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ।

यस्तै, मुक्ति पार्टीले सप्तरी क्षेत्र नम्बर ३ बाट चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डललाई उम्मेदवार बनाउने सिफारिस गरेको छ। चौधरी निर्वतमान सांसदसमेत भएकाले क्षेत्र नम्बर ३ मा पार्टीले अनुभवी नेतृत्वमार्फत चुनावी प्रतिस्पर्धा मजबुत बनाउने संकेत दिएको छ।

अध्यक्ष चौधरीका अनुसार समानुपातिकतर्फ सिफारिस गरिएका उम्मेदवारहरूको सूची हाल गोप्य राखिएको छ। पार्टीको केन्द्रीय निर्णयपछि मात्र ती नाम सार्वजनिक गरिने बताइएको छ। साथै, क्षेत्र नम्बर १ र ४ का उम्मेदवार तथा राष्ट्रिय सभाका उम्मेदवारको नाम भने पछि सिफारिस गरिने उनले जानकारी दिए।

क्षेत्र नम्बर २ बाट सिफारिस भएका महेशप्रसाद यादव संविधानसभा सदस्य रहिसकेका नेता हुन्। त्यस्तै, क्षेत्र नम्बर ४ बाट सिफारिस भएका चन्द्रकान्त चौधरी निर्वतमान सांसद हुन्। अनुभवी नेताहरूको उपस्थितिले पार्टीले यसपटक सप्तरीमा चुनावी पकड अझ बलियो बनाउने रणनीति लिएको देखिन्छ।

पार्टी स्रोतका अनुसार जिल्ला तहबाट आएका सिफारिसहरूलाई केन्द्रीय समितिले मूल्यांकन गरी अन्तिम उम्मेदवार घोषणा गर्नेछ। उम्मेदवार सिफारिससँगै राष्ट्रिय मुक्ति पार्टीले सप्तरीमा चुनावी गतिविधि थप सक्रिय बनाउने संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट