राजनीतिक आडमा कानुनलाई चुनौती दिँदै पालिका अध्यक्ष बनेका हत्या आरोपी मण्डल अन्ततः अदालतको कठघरामा
राजविराज— हत्या अपराधमा आरोपी हुँदाहुँदै राजनीतिक आडमा कानुनलाई पैतालामुनी राखेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका सप्तरीको राजगढ गाउँपालिका निवासी ओमप्रकाश मण्डल अन्ततः अदालतमा हाजिर भएका छन्। पक्राउ पर्ने डरले १९ मंसिरदेखि फरार रहेका उनी बुधबार आफैं जिल्ला अदालत सप्तरीमा हाजिर भएका हुन्।
बिहान अदालतमा उपस्थित भएका मण्डलको न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा बयान सकिएको छ भने थुनछेक बहस जारी रहेको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले जानकारी दिए।
यो मुद्दा ३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ गाउँपालिका क्षेत्र) स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्यासँग सम्बन्धित छ। उक्त घटनामा संलग्न रहेको आरोपमा अध्यक्ष मण्डलसहित सात जनाविरुद्ध १५ वैशाख २०७८ मा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
पक्राउ पुर्जी जारी भएकै अवस्थामा मण्डल ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजगढ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएको करिब १० महिनापछि, १४ फागुन २०७९ मा जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश हेमन्त रावलले उक्त मुद्दा मुल्तबीमा राख्ने आदेश दिएका थिए।
यसै प्रकरणका अर्का अभियुक्त तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल भने यसअघि नै २ पुसमा अदालतमा हाजिर भएका थिए। ३ पुसमा न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यही आदेशपछि गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल पनि अदालतमा उपस्थित भएका हुन्।
सो मुद्दाका अन्य अभियुक्तहरू—अध्यक्ष मण्डलकै बुवा तथा तत्कालीन बेल्ही चपेना गाविस अध्यक्ष गंगाराम मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, ‘बौकाई’ भनिने बच्चा यादव र भोलिचन सदा मुसहर भने अझै फरार रहेको अदालत स्रोतले जनाएको छ।
अभियोगपत्रअनुसार, रामजानकी मन्दिरको नाममा रहेको करिब ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेपछि विवाद चर्किएको थियो। यही विवादका क्रममा पुजारी जन्त्रीदास बैरागीको हत्या भएको अभियोग लागेको छ।
लामो समयदेखि ओझेलमा परेको यो मुद्दामा निर्वाचित जनप्रतिनिधि नै अदालतमा हाजिर भएपछि घटनाले पुनः सार्वजनिक र राजनीतिक तहमा समेत चासो बढाएको छ।

