घाँटी छिनाएर वन हेरालुको बीभत्स हत्याः शव भेटिएको भोलिपल्ट झाडीमा फालिएको टाउको भेटियो, रहस्य अझै गहिरियो

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनाका वन हेरालुको हत्या भएको भोलिपल्ट उनको टाउको फेला परेको छ। परियोजनामा ज्यालादारीमा कार्यरत वन हेरालु रामईश्वर महतोको घाँटी छिनाएर विभत्स हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलासमा खटिएको प्रहरी टोलीले घटनास्थलदेखि करिब सय मिटर दक्षिणतर्फको झाडीभित्र फालिएको अवस्थामा महतोको शिर फेला पारेको हो। आइतबार दिउँसो करिब पौने १ बजे शिर भेटिएसँगै यस जघन्य अपराधको भयावहता अझ स्पष्ट बनेको छ।

यसअघि शनिबार महतोको शिरविहीन शव मात्र फेला परेको थियो। घरबाट करिब पाँच सय मिटर टाढा, सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा शव भेटिँदा नै घटनाले सर्लाहीलाई स्तब्ध बनाएको थियो। प्रारम्भिक मुचुल्का तथा अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

डीएसपी सरोज राईका अनुसार घटनास्थल नजिकै झाडीमा शिर फेला परेपछि थप अनुसन्धानलाई तीव्र बनाइएको छ। धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थल वरपर खोजी गरिएको थियो। अपराधीले प्रमाण लुकाउन वा त्रास सिर्जना गर्न नियोजित रूपमा टाउको फालेको आशंका गरिएको छ।

४७ वर्षीय महतो सागरनाथ वन विकास परियोजनामा वन हेरालुको रूपमा काम गर्दै आएका थिए। स्थानीयका अनुसार शनिबार बिहान करिब पाँच बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेर उनी त्यसतर्फ गएका थिए। तर दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा जंगलभित्र उनको शिरविहीन शव भेटिएको थियो। सामान्य ज्यालादारी मजदुरको यस्तो क्रूर हत्या किन र कसले ग¥यो भन्ने प्रश्न अझै अनुत्तरित छ।

प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तर स्थानीयवासी भने अनुसन्धानको गति र प्रभावकारितामाथि सन्तुष्ट देखिँदैनन्। सागरनाथ वन क्षेत्रभित्र यसरी खुलेआम घाँटी छिनाएर हत्या हुनु सुरक्षा संयन्त्रको गम्भीर असफलता भएको उनीहरूको आरोप छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट