टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

जनकपुर— सामाजिक सञ्जाल टिकटकमा गरिएको धार्मिक लक्षित टिप्पणीबाट सुरु भएको विवाद मधेसमा गम्भीर तनावको रूपमा फैलिएको छ। धनुषाको कमला नगरपालिका–६ सखुवा मरानमा मस्जिद तोडफोड भएको घटनाको विरोधमा पर्साको वीरगञ्ज आइतबार बिहानैदेखि अशान्त बनेको छ।

टायर बाल्दै सडक अवरुद्ध, नाराबाजी र ढुंगामुढासहितको प्रदर्शनले वीरगञ्जका मुख्य चोकहरू घण्टाघर, मुर्ली, मालपोत चोक, छपकैया इदगाह चोक र गण्डक चोक तनावग्रस्त बनेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि छपकैया इदगाह चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसँगै पाँच राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले बताए।

झडपका क्रममा प्रहरीतर्फ चार जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठीचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएका छन्। प्रहरी बिटमाथि ढुंगामुढा हुँदा झ्यालका सिसा फुट्नुका साथै भौतिक क्षति पनि पुगेको छ। धनुषामा भएको घटनाको जरो टिकटकमै जोडिएको छ।

केही दिनअघि जनकपुर क्षेत्रमा टिकटकमा धर्म र संस्कृतिलाई लक्षित अभद्र टिप्पणीसहित भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको थियो। सो विषयमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवालाई स्थानीय अगुवाले प्रहरीको जिम्मा लगाएका थिए। इलाका प्रहरी कार्यालय खजुरीमा छलफल चलिरहेका बेला स्थिति नियन्त्रणबाहिर गएर मस्जिदमा तोडफोड र पवित्र धार्मिक ग्रन्थ कुरान जलाइएको आरोप सार्वजनिक भएपछि आक्रोश मधेसभर फैलिएको हो।

धनुषा प्रहरीका डीएसपी गणेश बमका अनुसार टिकटकमा भिडियो राख्ने र तोडफोडमा संलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने उनले बताए। तर स्थानीय र धार्मिक अगुवाहरू भने प्रशासनले प्रारम्भमै कडाइ नगर्दा घटना फैलिएको आरोप लगाइरहेका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गरेको छ। सीडीओ भोला दाहालले सामाजिक तथा धार्मिक द्वेष फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको स्पष्ट पारेका छन्।

अफवाह फैलाउने र राष्ट्रिय एकतामा आँच पुर्‍याउने जो–कोहीमाथि कडा कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ। जमियतुल उलमा नेपालका केन्द्रीय सहअध्यक्ष तथा यतिमखाना इस्लामिया स्कुल छपकैयाका प्रधानाध्यापक मौलाना अली असगर मदानीले धनुषामा भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

‘हिन्दु, मुस्लिम, शिख, इसाई, बौद्ध— सबै नेपाली हौं। धर्मका नाममा घृणा फैलाउने जो–कोहीमाथि कडा कारबाही हुनुपर्छ,’ उनले भने। प्रशासनका अनुसार दिउँसो १ बजेपछि वीरगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। तर एउटा टिकटक भिडियोबाट सुरु भएको विवादले मस्जिद तोडफोड, सडक प्रदर्शन र प्रहरी–प्रदर्शनकारी झडपसम्म पुग्नुले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग, कमजोर निगरानी र ढिलासु कारबाहीमाथि गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट