उदयपुरको बेलकामा तीन दिनपछि विदेश जाने तयारीमा रहेकी श्रीमतीको चक्कु प्रहार गरी हत्या
राजविराज– उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चौकमा आइतबार बिहान घरेलु विवादले भयावह रूप लिँदा एक युवतीको ज्यान गएको छ। घरायसी झैझगडाका क्रममा श्रीमानले तरकारी काट्ने धारिलो हतियार चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्।
प्रहरीका अनुसार बिहान करिब ७ बजेतिर ३० वर्षीय खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती गङ्गा राई (भावना) बीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्कँदै कुटपिट र चक्कु प्रहारमा परिणत भएको थियो। आक्रोशित राईले श्रीमतीमाथि धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनापछि राईले आफैंले पनि छाती र पेटमा चक्कु प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए।
चक्कु प्रहारपछि दुवैलाई गम्भीर अवस्थामा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा गङ्गाको बिहान करिब साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। खगेन्द्र राईको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार झगडा घरभित्रै सुरु भएको थियो। श्रीमानले चक्कु निकालेर प्रहार गर्न थालेपछि गङ्गा ज्यान जोगाउन घरबाहिर भागेकी थिइन्। तर खगेन्द्रले उनलाई खेद्दै केही परसम्म लगेर पुनः चक्कु प्रहार गरेको गाउँलेहरूको भनाइ छ।
घटनाको पृष्ठभूमि झन् पीडादायी छ। खगेन्द्र राई वैदेशिक रोजगारीबाट करिब एक वर्षअघि नेपाल फर्किएका थिए भने गङ्गा २५ दिनअघि मात्र विदेशबाट नेपाल आएकी थिइन्। उनी केही समय दिदीको घरमा बसेर दुई दिनअघि मात्र श्रीमानको घर फर्किएकी थिइन्। तीन दिनपछि फेरि विदेश जाने तयारीमै रहेकी गङ्गाको यसरी ज्यान जानुले स्थानीय समाज स्तब्ध बनेको छ।
बेलका नगरपालिकाका मेयरले पनि घटना अचानक भएको घरेलु विवादको परिणाम भएको बताएका छन्। तर वैदेशिक रोजगारी, लामो समयको विछोड र घरभित्रै बढ्दै गएको तनावले हिंसात्मक विस्फोटको रूप लिएको हुनसक्ने स्थानीयको आशंका छ।
लोकप्रिय
सिरहामा तीन दशकदेखि बसेको मुसहर बस्ती उठाउने षड्यन्त्रः वडासदस्यकै मुद्दा र धम्कीले भूमिहीन पीडित त्रसित

