साथीको जन्मदिनमा हिडेकी किशोरीलाई कोठामा पुर्‍याएर बलात्कार गरेको आरोपमा वडा सचिव कारागार चलान

विराटनगर— मोरङको सुनवर्षी नगरपालिका–२ मा कार्यरत वडा सचिव ईश्वरराज रेग्मीलाई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै रेग्मी कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङले प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाण, पीडितको बयान र घटनाको गम्भीरतालाई आधार मानेर रेग्मीलाई थुनामै राख्नुपर्ने ठहर गरेको हो। सूचना अधिकारीका अनुसार प्रतिवादीको बयान र दुवै पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सम्पन्न भएपछि अदालतले अभियुक्तलाई पछि ठहरेबमोजिम हुने गरी थुनामा राख्ने आदेश दिएको हो।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ स्थायी घर भएका ३१ वर्षीय रेग्मीलाई प्रहरीले मङ्सिर २१ गते पक्राउ गरेको थियो। उनीमाथि कक्षा १० मा अध्ययनरत एक किशोरीलाई आफ्नै कोठामा राखी बलात्कार गरेको गम्भीर अभियोग छ। प्रहरीका अनुसार मङ्सिर १४ गते राति घटनामा परेको भन्दै पीडित पक्षले जाहेरी दिएका थिए।

घटनाका दिन किशोरी साथीको जन्मदिन मनाउन जाने बहानामा घरबाट निस्किएकी थिइन्। भोलिपल्टसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरु गरिएको खोजतलासका क्रममा किशोरी फेला परेकी थिइन्। प्रहरीले गरेको प्रारम्भिक सोधपुछ र स्वास्थ्य परीक्षणपछि घटनाको विवरण बाहिर आएको जनाइएको छ।

प्रहरीले बलात्कार सम्बन्धी कसुरमा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान पूरा गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसैको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङमा अभियोगपत्र दायर गरेको हो।

कानुन कार्यान्वयन र प्रशासनिक सेवाको अग्रपंक्तिमा रहने वडा सचिवमाथि यस्तो संगीन आरोप लाग्नुले स्थानीय तहको नैतिकता, सुरक्षा र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा भएको छ। पीडित किशोरीको न्याय सुनिश्चित गर्न निष्पक्ष र कडाइका साथ कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत बलियो बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट