एमालेलाई गम्भीर धक्काः चारपटक सांसद जितेका बृजेशकुमार गुप्ताको विद्रोह, पार्टी परित्याग
काठमाडौँ– नेकपा एमालेले कपिलवस्तुमा मात्र होइन, राष्ट्रिय राजनीतिमै ठूलो राजनीतिक झट्का बेहोरेको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद जितिसकेका प्रभावशाली नेता बृजेशकुमार गुप्ताले एमाले परित्याग गरेका छन्। लामो समयदेखि पार्टीभित्र असन्तुष्टि बोकेर बसेका गुप्ताको बहिर्गमनले एमालेभित्रको आन्तरिक संकट फेरि सतहमा आएको छ।
गुप्ताले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनप्रति केपी शर्मा ओली नेतृत्वको सरकारले अपनाएको दमनकारी रवैयालाई पार्टी छाड्ने मुख्य कारणका रूपमा अघि सारेका छन्। उनका अनुसार सुशासन, रोजगारी र न्यायका जायज माग बोकेर सडकमा उत्रिएका युवा–विद्यार्थीमाथि बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत थियो। दुई ठूला दल मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भमा एमाले नेतृत्व देखिएको र त्यसबाट सुधारको कुनै संकेत नदेखिएपछि पार्टीसँगको सम्बन्ध तोड्नु परेको उनको भनाइ छ।
पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले एमाले नेतृत्वको प्राथमिकता नै गलत दिशामा गएको गम्भीर आरोप लगाएका छन्। पार्टीको ध्यान सुशासन दिनुभन्दा भ्रष्टाचार संरक्षण र भ्रष्टाचारी जोगाउनेतर्फ केन्द्रित भएको उनको ठोकुवा छ। ‘नेतृत्व राम्रा कामको जस लिन अघि सर्छ, तर गल्ती र कमजोरी कहिल्यै स्वीकार्दैन,’ गुप्ताले भनेका छन्, ‘पटक–पटक यस्तै प्रवृत्ति देखिएपछि अन्ततः पार्टी छाड्ने निर्णयमा पुगेँ।’
उनले आफू भारतमै रहेका बेला पार्टीबाट राजीनामा दिएका हुन् र पछिल्लो महाधिवेशनमा पनि सहभागी भएनन्। राजनीतिबाट अलग नहुने स्पष्ट संकेत गर्दै गुप्ताले अबको राजनीतिक यात्राबारे आफ्ना मतदाता, शुभेच्छुक र क्षेत्रका नागरिकसँग छलफल गरिरहेको बताएका छन्। कुन दल रोज्ने भन्ने विषयमा तत्काल निर्णय भइनसकेको उनको भनाइ छ।
इन्जिनियरिङको स्थायी जागिर त्यागेर २०५६ सालदेखि राजनीतिमा होमिएका गुप्ताको राजनीतिक यात्रा उतारचढावपूर्ण छ। उनले सुरुमा राप्रपाबाट राजनीति थाले, त्यसपछि तमलोपा हुँदै एमालेमा आबद्ध भए। २०५६ र २०७४ मा प्रतिनिधिसभा सदस्य तथा २०६४ र २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुँदै उनले चारपटक संसदीय सफलता हासिल गरेका थिए। २०७९ को आमनिर्वाचनमा भने उनी कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतान्तरले पराजित भएका थिए।
चारपटक जनमत प्राप्त गरेको अनुभवी नेताको पार्टी परित्यागले एमालेको संगठनात्मक शक्ति, नेतृत्वको शैली र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ। सत्ता र शक्तिकेन्द्रमा केन्द्रित नेतृत्वले असन्तुष्ट आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति कायम रहँदा एमालेभित्र यस्ता विद्रोहहरू अझ बढ्ने संकेतका रूपमा गुप्ताको बहिर्गमनलाई हेरिएको छ।

