सिरहाको कर्जन्हामा १७ वर्षीया बालिकाको बलात्कारपछि हत्याः धनुषाका ४५ वर्षीय रामबालक पक्राउ

लहान– सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरिएको जघन्य घटनामा संलग्न अभियुक्तलाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ।

गत मंसिर २२ गते दिउँसो करिब पौने ३ बजे कर्जन्हा नगरपालिका–२, स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५÷२० मिटर उत्तरतर्फको झाडीमा एक किशोरीको शव फेला परेको थियो। मृतक कर्जन्हा नगरपालिका–१, बाल्टिया निवासी १७ वर्षीया बालिका रहेको पुष्टि भएपछि घटनाले व्यापक आक्रोश र त्रास फैलाएको थियो।

घटनालाई गम्भीर अपराधका रूपमा लिँदै नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म र प्रविधिमैत्री अनुसन्धान अघि बढाएको थियो।

प्रहरी स्रोतका अनुसार घटनास्थलको वैज्ञानिक परीक्षण, व्यवहारिक विश्लेषण, प्राविधिक विवरण र सम्भावित आवतजावतको आधारमा अभियुक्तसम्म पुगिएको हो। लगभग १५ दिन लामो अनुसन्धानपछि प्रहरीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–३, बटैया टोल निवासी ४५ वर्षीय राम बालक चौधरीलाई पक्राउ गरेको छ।

उनी २१ पुसमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट अभियुक्तले बालिकालाई बलात्कार गरी हत्या गरेको पुष्टि हुने आधार भेटिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार अभियुक्तमाथि ‘करणी गरी कर्तव्य गरी मारेको’ कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। घटनाका सबै आयाम केलाउँदै अभियोजन बलियो बनाउने तयारी भइरहेको बताइए पनि यस्ता अपराध किन दोहोरिरहन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

बालिकामाथि भएको यो क्रूर घटनाले अपराधपछि मात्र सक्रिय हुने राज्य संयन्त्रको सीमितता उजागर गरेको छ। समुदायस्तरको निगरानी, जोखिम पहिचान र बाल संरक्षणका संरचनात्मक उपाय कमजोर हुँदा निर्दोष बालिकाले ज्यान गुमाउनुपरेको यथार्थले समाज र राज्य दुवैलाई कठघरामा उभ्याएको छ।

अब यो प्रकरणमा द्रुत, निष्पक्ष र कडा न्यायिक प्रक्रिया मार्फत अभियुक्तलाई कठोर सजाय दिन सकिन्छ कि सकिँदैन भन्ने कुराले मात्र होइन, भविष्यमा यस्ता जघन्य अपराध रोक्न राज्य कति गम्भीर छ भन्ने कुराले पनि न्यायको वास्तविक परीक्षा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट