रास्वपासँग एकतापछि बालेन समूहमा चिराः ‘लौरो’ अभियान विद्रोहमा, पुरानो टिम असन्तुष्ट
काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को राजनीतिक यात्राले नयाँ मोड लिँदै गर्दा उनको आफ्नै समूहभित्र गहिरो विभाजन देखिन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेपछि स्थानीय तहको चुनावदेखि साथ दिँदै आएका स्वतन्त्र र ‘लौरो’ अभियानको एक महत्वपूर्ण तप्का खुला असन्तुष्टिमा उत्रिएको हो।
यसले बालेनको ‘स्वतन्त्रताको राजनीति’ र ‘नयाँ युग’को दाबीमाथि नै प्रश्न उठाइदिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित बालेनले पुस १३ गते रास्वपासँग एकता समझदारी गरेका थिए। सो सहमतिअनुसार बालेन वरिष्ठ नेताका रूपमा उभिँदै आफ्ना निकटवर्ती २६ जनालाई रास्वपाको केन्द्रीय समितिमा पु¥याए र समानुपातिक सूचीमा ३६ जनालाई समेटिएको छ।
यही निर्णयले उनको समूहभित्र ‘अवसरवाद’ र ‘बार्गेनिङ राजनीति’को आरोप उब्जिएको छ। असन्तुष्ट पक्षले बिहीबार छुट्टै भेला आयोजना गर्ने तयारी गरेको छ। लौरो अभियानका कार्यवाहक संयोजक विनोद बजगाईंका अनुसार उक्त भेलामा करिब ५ सय जनाको सहभागिता रहने दाबी गरिएको छ। उनका अनुसार यो भेला लौरो अभियान, स्वतन्त्र र जेनजी समूहको साझा कार्यक्रम हुनेछ र रास्वपासँग भएको एकतालाई स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय यही भेलाले गर्नेछ।
बालेनलाई प्रतिनिधिसभा चुनाव लडाउने उद्देश्यले नै २०८० सालतिर ‘लौरो’ चुनाव चिह्नसहित ‘हाम्रो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गरिएको थियो। अनन्तराज घिमिरे र रोहन कार्कीको नेतृत्वमा गठित उक्त दलको नाम पछि परिवर्तन गरेर ‘देश विकास पार्टी’ राखिएको थियो। रास्वपासँग कुरा नमिल्दा बालेनले यही दलको नेतृत्व गर्दै जेनजीदेखि पुराना–नयाँ दलका नेतासम्म भेटवार्ता गरेका थिए। तर अन्ततः रवि लामिछानेसँग दुई चरणको वार्तापछि पुस १३ गते बिहानै एकता पत्रमा हस्ताक्षर गर्दै बालेनले देश विकास पार्टीलाई अलपत्र छाडे।
यही कदमलाई लिएर लौरो अभियान आक्रोशित बनेको छ। विनोद बजगाईं, डम्बर साहु र हरि कार्कीको नेतृत्वमा रहेको समूहले लौरो चिह्न फिर्ता माग्दै विरोध चर्काएको छ। उनीहरूका अनुसार लौरो चिह्नबाट बालेनलाई मेयर जिताएको समूहलाई बेवास्ता गर्दै केही सीमित व्यक्तिलाई केन्द्रीय सदस्यको लोभमा रास्वपामा घुसाइएको छ।
‘बालेनलाई साथ दिएका पुरानो टिमका अधिकांश उनको निर्णयबाट असन्तुष्ट छन्,’ बजगाईंले भनेका छन्, ‘स्वतन्त्रहरूको साझा पहिचान रहेको लौरो कुनै दलसँग बार्गेनिङको हतियार बन्न सक्दैन।’ उनका अनुसार पार्टीको नाम परिवर्तन गरेर मनपरी ढंगले रास्वपामा बुझाइने काम भएको छ, जुन लौरोबाट चुनाव लडेका सबैको अपमान हो।
डम्बर साहुले पनि लौरो अभियानको दुरुपयोग गरिएको आरोप लगाउँदै अबको बाटो बिहीबारको भेलाले तय गर्ने बताएका छन्। उनका अनुसार स्थानीय तहको चुनावमा लौरो चिह्नबाट उम्मेदवार बनेका सयौँ व्यक्ति यो अभियानसँग जोडिएका छन् र दुई सयभन्दा बढी प्रत्यक्ष उपस्थित हुने तयारीमा छन्।
यसैबीच बालेनले देश विकास पार्टीका अनन्तराज घिमिरे र रोहन कार्कीलाई रास्वपाको केन्द्रीय सदस्य बनाइसकेका छन्। तर असन्तुष्ट पक्षले ‘देश विकास पार्टी’ नामलाई नै स्वीकार नगरेको स्पष्ट पारेको छ। उनीहरूको आरोप छ–‘केन्द्रीय सदस्य बन्न पार्टीलाई तिलाञ्जलि दिनु सम्पूर्ण लौरो समर्थकको आवाजको अपमान हो।’
यो विभाजनले बालेनको राजनीतिक विश्वसनीयता र स्वतन्त्रताको ब्रान्डमाथि गम्भीर प्रश्न खडा गरेको छ। मेयरको लोकप्रियताबाट राष्ट्रिय राजनीतिमा उक्लिन खोजिरहेका बालेनका लागि आफ्नै आधारभूत समर्थन समूहको विद्रोह अब केवल आन्तरिक असन्तोष होइन, आगामी चुनावी गणितलाई असर पार्ने निर्णायक चुनौती बनेको छ।

