‘बालेन फेस’ अगाडि सारेर मधेश कब्जा गर्ने दाउमा रास्वपाः डोजर अभियान र ‘गरिबमारा’ आरोप भारी पर्ने संकेत

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै मधेश प्रदेशमा निर्णायक उपस्थिति जनाउने रणनीति तीव्र पारेको छ। त्यसका लागि पार्टीले काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र साह)लाई ‘ट्रम्प कार्ड’ का रूपमा प्रयोग गर्ने स्पष्ट संकेत देखिन थालेको छ।

राजनीतिक रूपमा कमजोर मानिएको मधेशमा रास्वपाले बालेनको लोकप्रियता, पहिचान र नयाँ पुस्ताको मनोविज्ञानलाई एउटै सूत्रमा बाँधेर चुनावी दाउ खेल्न खोजेको देखिन्छ। २०७९ को आम निर्वाचनमा शहरी क्षेत्र र पहाडी भूगोलमा आश्चर्यजनक उदय गरेको रास्वपा मधेशमा भने अपेक्षाअनुसार जम्न सकेन। बारा–२ उपनिर्वाचनमा पार्टीको उम्मेदवारको जमानत जफत हुनु रास्वपाका लागि ‘वेकअप कल’ बन्यो।

त्यसपछि पार्टी नेतृत्वले मधेशलाई गम्भीर रूपमा अध्ययन गर्न थालेको छ। रवि लामिछानेले महोत्तरी–जलेश्वरमा दिएको भावनात्मक अभिव्यक्ति, मधेशका मतदातालाई ‘उपेक्षित’ भनिएको भाषण र पछिल्ला राजनीतिक भेटघाटहरू त्यसैको संकेत मानिन्छ।

मधेश प्रदेश रास्वपाका लागि केवल एउटा क्षेत्र मात्र होइन, सत्ता यात्राको अनिवार्य सर्त हो। करिब २९ लाख मतदाता रहेको यो प्रदेशले प्रतिनिधिसभामा ३२ प्रत्यक्ष सिट तय गर्छ। समानुपातिक मत गणनामा पनि मधेश निर्णायक बन्छ। यही यथार्थले रास्वपालाई ‘मधेश बिना सिंहदरबार असम्भव’ भन्ने निष्कर्षमा पुर्‍याएको देखिन्छ।

यही सन्दर्भमा बालेन साहको प्रवेश राजनीतिक रूपमा अर्थपूर्ण बन्दै गएको छ। महोत्तरीसँग पुख्र्यौली नाता जोडिएका बालेन काठमाडौँको मेयर भए पनि मधेसी मूलका नेता हुन्। रास्वपाको रणनीतिमा बालेन केवल व्यक्ति होइनन्, उनलाई ‘मधेसी अनुहारसहितको नयाँ राजनीति’ को प्रतीकका रूपमा प्रस्तुत गरिँदैछन्। पुराना मधेसी दलहरूबाट दिक्क भएका मतदातालाई तान्न बालेनको ‘भ्रष्टाचारविरुद्धको छवि’ र ‘काम गरेर देखाउने शैली’ उपयोगी हुने रास्वपाको बुझाइ छ।

मधेशमा देखिँदै गएको पुस्तान्तरणको मनोविज्ञान पनि बालेन कार्डका पक्षमा देखिन्छ। कांग्रेस, एमाले, नेकपा (तत्कालिन माओवादी र नेकपा एस) देखि जसपा र लोसपासम्मलाई एउटै ‘पुरानो राजनीतिक थैली’ मा राखेर हेर्ने युवा पुस्ता बढ्दै गएको छ। उनीहरूका लागि जातीय नाराभन्दा सेवा, पारदर्शिता र अवसरको प्रश्न ठूलो बनेको छ। काठमाडौँ महानगरले सुरु गरेको छात्रवृत्ति कार्यक्रम, डिजिटल सेवा र कडा प्रशासनिक शैलीको प्रभाव मधेशसम्म पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

तर बालेन कार्ड पूर्ण रूपमा सुरक्षित दाउ भने होइन। मधेशमा अहिले ‘लहर’ भन्दा ‘संशय’ बढी छ। सामाजिक सञ्जालको लोकप्रियताले मतपेटिकासम्म यात्रा गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न उठिरहेको छ। काठमाडौँमा गरिएको डोजर अभियान, सडक व्यापार हटाउने निर्णय र त्यसबाट प्रभावित गरिब वर्गमा मधेसीहरूको ठूलो हिस्सा हुनु बालेनका लागि कमजोर बिन्दु बन्न सक्छ। ‘काम गर्ने मेयर’ को छवि र ‘गरिबमारा’ को आरोपबीचको द्वन्द्व मधेशमा गहिरो बहसको विषय बन्दै गएको छ।

अर्कोतर्फ, संघीयता, समावेशिता र मधेशका दीर्घकालीन राजनीतिक मुद्दामा बालेन र रास्वपाको स्पष्ट रोडम्याप अझै सतहमा आएको छैन। मधेशका मतदाताले केवल अनुहार होइन, अपनत्व र अधिकारको भरोसा खोजिरहेका छन्। संगठनात्मक संरचना कमजोर हुनु र गाउँ–गाउँसम्म कांग्रेस, एमाले र मधेसी दलहरूको जरा गहिरो हुनु पनि रास्वपाका लागि चुनौती बनेको छ।

यद्यपि रास्वपाले जोखिम मोलेरै अगाडि बढ्ने संकेत दिइसकेको छ। रवि लामिछाने, बालेन साह र कुलमान घिसिङलाई एउटै फ्रेममा राखेर सातै प्रदेश राजधानी यात्रा गर्ने योजना पार्टीभित्र छलफलमा छ। बालेनलाई भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा प्रस्तुत गर्ने रणनीति पनि यही यात्राको हिस्सा हुन सक्ने आँकलन भइरहेको छ।

अन्ततः बालेन कार्ड रास्वपाका लागि ‘निर्णायक कदम बन्छ कि आत्मघाती चाल’, त्यसको फैसला भने काठमाडाँंका सभा वा कोठे वैठकले नभई मधेशका मतपेटिकाले गर्नेछन्। प्रश्न एउटै छ— मधेशले बालेनलाई ‘आफ्नो छोरो’ का रूपमा स्वीकार गर्छ कि ‘काठमाडौँको मेयर’ भनेर दूरी कायम राख्छ? यही प्रश्नको उत्तरमा रास्वपाको सत्ता सपना टिकेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट