छोरीलाई तातो कपडा किन्ने सपना बोकेर काममा निस्किएका उमेश चिसोमै ढले, श्रीमती र ३ हप्ताकी छोरी बेसहारा
राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–३ गोरपारका ३२ वर्षीय उमेश खंग गत शुक्रबार (पुस २५ गते) काममा निस्किए। ज्याला मजदुरी गरेर परिवारको जिविकोपार्जन गर्दै आएका उनलाई पछिल्लो समय आर्थिक अभावले झनै च्यापेको थियो।
घरमा श्रीमती सुत्केरी थिईन, श्रीमती दरोपतिकुमारी र तीन हप्ताकी शिशुलाई तातो कपडा किनिदिने र मिठोमसिनु खुवाउने आशा बोकेर काममा निस्किएका उनी सितलहरको चपेटामा परेर घर फर्कनै पाएनन्। बाक्लो हुस्सु र चिसो सिरेटो चलिरहेको समयमा पनि कञ्चनरुप नगरपालिका–१२ स्थित रुपनगरमा छत ढलानको काम गरिरहेका उनी अचाक विरामी परे। हात–खुट्टा चल्न छाडेपछि केहीबेरमै उनी बेहोस भए।
सहकर्मीहरूले तत्कालै उपचारका लागि स्थानीय अस्पताल पु¥याए पनि उनको जिवन वचाउने प्रयास सफल हुन सकेन। आर्थिक अभावका कारण प्रतिकुल मौसममा पनि वाध्यताले काममा निस्किएका एक युवकले अकालमै ज्यान गुमाउनु अत्यन्तै दुखद पक्ष वनेको छ। अझै दुःखद पक्ष भनेको उनको मृत्युसँगै श्रीमती दरोपतिकुमारी र नवजात शीशु (छोरी नेहाकुमारी) को जीवन अन्धकारमा डुबेको छ।
ऐलानी जग्गामा बनाइएको टहरामा बसोबास गर्दै आएको यो परिवारसँग न त बचत थियो, न त जाडो छल्ने न्यानो कपडा। ‘परिवार चलाउने मान्छे उहाँ नै हुनुहुन्थ्यो,’ श्रीमती दरोपतिले आँसु झार्दै भनिन्, ‘छोरी जन्मिएपछि कपडा छैन भनेर चिन्ता लाग्थ्यो। छाक टार्नै पनि काममा जानु पर्ने अवस्था थियो।’
उनका अनुसार उमेशसँग बाक्लो लुगा थिएन। पातलो ज्याकेट र हाफ पाइन्टमै उनी दैनिक मजदुरी गर्न बाध्य थिए। ‘आफ्नो लागि कपडा किन्न धेरैपटक सोच्नुभयो, तर पैसा पुग्दैनथ्यो। पहिला छोरीलाई लुगा किनिदिन्छु, अनि म लिन्छु भन्नुहुन्थ्यो।’ दरोपतिले भनिन्।
मजदुरीबाट आएको ज्यालाले गाउँलेसँग उठाएको ऋणको किस्ता तिर्न र दैनिक छाक टार्नै अपुग हुँदा कपडा किन्ने योजना कहिलै पुरा नभएको उनले सुनाइन्। श्रीमानको मृत्युले शोकमा डुबेकी दरोपतिलाई अहिले किरिया खर्च जुटाउनै मुस्किल भइरहेको छ।
अर्कोतर्फ, कठ्याङ्ग्रिदो चिसोमा नवजात छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ताले उनलाई रातदिन सताइरहेको छ। शनिबार उमेशको दाहसंस्कार सम्पन्न भएपछि उनका ७ वर्षीय भतिजा किशोरकुमार किरियामा बसेका छन्। जसले परिवारको कमजोर सामाजिक अवस्थालाई अझै मार्मिक बनाएको छ।
कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामसेवक यादवले अत्यधिक चिसोका बीच छत ढलानको काम गर्दा उमेशको मृत्यु भएको पुष्टि गरे। ‘चिसोले हात–खुट्टा काम गर्न छाडेपछि उपचारका लागि अस्पताल लगिएको थियो,’ उनले भने, ‘तर उपचार सफल भएन।’
यादवका अनुसार नगरपालिकाभित्रको विवादका कारण यस वर्ष कठ्याङ्ग्रिदो चिसोमा पनि गरिब तथा विपन्नलाई न्यानो लुगा वितरण गर्न सकिएको छैन। वडाध्यक्ष गुल्टेन चौधरीले मृतकको परिवार अति विपन्न दलित समुदायको भएको स्वीकार गर्दै घरमै पुगेर थप जानकारी लिने बताएका छन्। ‘के गर्न सकिन्छ, म प्रयास गर्छु,’ उनले भने।
तर, ‘प्रयास गर्छु’ भन्ने आश्वासनभन्दा बाहिर ठोस राहत र दीर्घकालीन सहयोग नपुगेसम्म दरोपतिकुमारी र उनकी छोरीको भविष्य अन्योलमै रहने स्पष्ट छ। उमेश खंगको मृत्यु केवल एक व्यक्तिको मृत्यु होइन, यो चिसोमा ज्यान जोगाउन नसक्ने गरिबी, समयमै राहत पुर्याउन नसक्ने राज्य व्यवस्था र स्थानीय तहको जिम्मेवारीहीनताको कठोर प्रतिबिम्ब हो।
प्रत्येक वर्ष दोहोरिने यस्ता घटनाले पनि न राज्यलाई हल्लाउँछ, न नीति बदलिन्छ। पालो कहिले र कस्को भन्ने मात्र हो हो, छाक टार्न निस्किएका अझै कति मजदुरले अकालमा ज्यान गुमाउनु पर्ने हो त्यसको कुनै लेखाजोखा छैन।

